Sunday, April 20, 2025
समाजसार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा झण्डै आठ लाख जरिवाना
spot_img

सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा झण्डै आठ लाख जरिवाना

काठामाडौं | काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा झण्डै आठ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ। महानगरपालिकाले चैत १५ गते (शुक्रबार) काठमाडौंको तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी, फोहोरमैला व्यवस्थापनमा लापरबाही तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको भन्दै यो जरिवाना तोकेको हो।

महानगरले पूर्वराजा ज्ञानेन्द्रको नाम उल्लेख गर्दै आठवटा छुट्टाछुट्टै पत्र काटेको छ, जसमा फरक-फरक शीर्षकमा जरिवाना तोकिएको छ। कोटेश्वर, जडिबुटी, तीनकुने, बालकुमारी, महादेवस्थान र सिनामंगल क्षेत्रमा प्रदर्शनकारीहरूले सडक र सडकपेटीमा फोहोरमैला फालेको, तोडफोड गरेको तथा वातावरण प्रदूषण पुर्याएको भन्दै ६ लाख रुपैयाँ जरिवाना लगाइएको छ। त्यस्तै, न्युरोड वारुण यन्त्रको दमकलमा ढुंगामुढा प्रहार गरी तोडफोड गरेको आरोपमा एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

यसैगरी, तीनकुने क्षेत्रमा रहेका रुख, बिरुवा तथा रेलिङ भाँचिएको भन्दै ४० हजार रुपैयाँ, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको छ। महानगरका अनुसार, यसअघि पनि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्कने क्रममा आयोजित स्वागत कार्यक्रममा फोहोर गरिएको तथा रेलिङ भाँचिएको भन्दै महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।

शुक्रबारको प्रदर्शनका क्रममा तोडफोड, लुटपाट, आगजनी र पत्रकारको हत्या जस्ता घटनाहरू भएपछि सरकार पूर्वराजा ज्ञानेन्द्र शाहमाथि थप अनुसन्धान गर्दैछ। सरकारको आशंका अनुसार उनी विदेश भाग्न सक्ने सम्भावना भएकाले उनको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया समेत अघि बढाइएको छ। सुरक्षा स्रोतका अनुसार प्रदर्शनका योजनाकारहरू पहिल्यैदेखि निगरानीमा थिए, र सोही आधारमा पूर्वराजासम्म अनुसन्धान अघि बढ्ने देखिएको छ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कुनै पनि गतिविधि सह्य नहुने बताउँदै तोकिएको जरिवाना तिर्न निर्देशन दिएको छ। तर, पूर्वराजा ज्ञानेन्द्र शाहले महानगरको यो निर्णयबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img