हेटौँडा | नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा हेटौँडामा शुक्रबारको पत्रकार हत्या र सञ्चारमाध्यममाथिको आक्रमणको विरोधमा आक्रोशित प्रदर्शन गरिएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा भएको विरोध प्रदर्शनमा सहभागी पत्रकारहरूले स्वतन्त्र प्रेसमाथि भएको आक्रमण लोकतन्त्रका लागि गम्भीर खतरा भएको भन्दै कडा कारबाहीको माग गरे।
हेटौंडाको पल्पसा सभागृहबाट सुरु भएको र्याली मकवानपुर उद्योग वाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै स्कुलरोड पुगेर सभामा परिणत भएको थियो।
नेपाल पत्रकार महासंघले शुक्रबार आफ्नो स्थापना दिवस मनाउने योजना गरे पनि पत्रकारको हत्या भएको र सञ्चारमाध्यममाथि आक्रमण भएकाले सबै कार्यक्रम स्थगित गरी विरोध प्रदर्शनमा उत्रिएको महासंघका प्रतिनिधिहरूले बताएका छन्।
पत्रकार र मिडियामाथिको आक्रमण निन्दनीय
शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलन हिंसात्मक बन्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। रिपोर्टिङ गरिरहेका बेला राजावादी प्रदर्शनकारीले आगजनी गर्दा उनको निधन भएको थियो। यस घटनापछि पत्रकार महासंघले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।
विरोध सभामा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहाल, गैरसरकारी संस्था महासंघकी आरती पाठकलगायतले सम्बोधन गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरे। स्वतन्त्र पत्रकार संघका उपमहासचिव सुरेश श्रेष्ठसहित थुप्रै पत्रकारको उल्लेखनीय उपस्थिति रहेको थियो।
पत्रकार महासंघका नेताहरूले प्रेस स्वतन्त्रताको रक्षा लोकतन्त्रको मेरुदण्ड भएकाले पत्रकारमाथिको आक्रमणलाई कुनै पनि हालतमा सह्य गर्न नसकिने बताए। उनीहरूले पत्रकारको सुरक्षाका लागि राज्यले तत्काल कडा कदम चाल्नुपर्ने माग गरे।
प्रदर्शनका क्रममा पत्रकारहरूले ‘पत्रकारमाथि आक्रमण बन्द गर’, ‘हत्यारालाई कानुनी कारबाही गर’ लगायतका नारा लगाएका थिए।