हेटौँडा |मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा अवस्थित वैकुण्ठ अब केवल एक विकट बस्ती मात्र रहेन। नयाँ वर्ष २०८२ को पहिलो दिनसँगै यहाँको वातावरण बदलिएको छ । सयौँ आन्तरिक पर्यटकको उपस्थिति, युवाको चहलपहल, र आकाशमा तैरिँदै उड्ने साहसिक जिपलाइन सवारले वैकुण्ठलाई नयाँ रङ दिएको छ।
यही दिन, कैलाश गाउँपालिका–२ मा निर्माण सम्पन्न भएको १२०० मिटर लामो ‘कैलाश–वैकुण्ठ जिपलाइन’को औपचारिक उद्घाटन गरिएको छ । करिब एक करोड लागतमा निर्माण भएको यो जिपलाइन वैकुण्ठ डाँडाबाट कैलाश डाँडासम्मपुग्न सकिन्छ ।

वैकुण्ठ जिपलाइन केवल साहसिक खेल मात्र होइन, विकट गाउँहरू पनि अब पर्यटनको माध्यमबाट परिवर्तनको दिशामा अगाडि बढ्न सक्छ भन्ने एक संकेत हो । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले यस परियोलाई गाउँपालिकाको दीर्घकालीन पर्यटन योजना अन्तर्गतको मेरुदण्डको रूपमा परिभाषित गरेका छन्। उनका अनुसार वैकुण्ठलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले यो पूर्वाधार निर्माण गरिएको हो।
जिपलाइन सञ्चालनसँगै वैकुण्ठमा पर्यटकको उल्लेख्य संख्यामा आगमन देखिएको छ। विशेषगरी मकवानपुर, धादिङ र चितवन जिल्लाबाट सयौँको संख्यामा आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन वैकुण्ठ पुगेका थिए। कैलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङका अनुसार केवल नयाँ वर्षको दिनमात्र करिब १५ सय भन्दा बढी पर्यटकले वैकुण्ठको भ्रमण गरेका थिए। अग्लो डाँडाबाट दृश्यावलोकन, चिसो हावापानी, हरियाली जंगल, परम्परागत बस्ती, धार्मिक तथा ऐतिहासिक स्थलहरूले भरिएको यो ठाउँ पर्यटकलाई आध्यात्मिकता र रोमाञ्चकता दुवैको स्वाद दिन सफल भएको छ।
जिपलाइनमात्र होइन, वैकुण्ठमा हालसम्म एक दर्जनभन्दा बढी पर्यटकीय संरचना निर्माण भइसकेका छन्। डाँफे मुनाल पार्क, विष्णु कुण्ड, सतीघाट संरक्षण स्थल, डम्फू पार्क, चितुवा पार्क, टुङ्गा पार्क लगायतका स्थलहरूले वैकुण्ठलाई बहुआयामिक गन्तव्य बनाइरहेका छन्। यीमध्ये विष्णु कुण्ड र सतीघाट ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्त्वका छन्। स्थानीय जनविश्वास अनुसार करिब चार सय वर्षअघि वैकुण्ठ बसोबास सुरु गरेका सुर्ज मोक्तानकी कान्छी पत्नी केमालोमा मोक्तान सती गएको स्थान सतीघाट संरक्षण गरिँदै आएको छ।
त्यस्तै, वैकुण्ठबाट तामाङ समुदायको पुरातात्विक सम्पदा, गुफाहरू, ऐतिहासिक कुण्ड, र धार्मिक गुम्बाहरूको समेत अवलोकन गर्न सकिन्छ। यहाँ रहेको ‘टासी फर्पे छोयलिङ गुम्बा’, जहाँ धार्मिक पर्यटकको आकर्षण बढिरहेको पाइन्छ। यी सबैले वैकुण्ठलाई केवल रमणीय स्थान होइन, एक ऐतिहासिक र सांस्कृतिक संवादको केन्द्र बनाइदिएको छ।

वैकुण्ठ पुग्नका लागि पनि यातायात अब सहज बन्दै गएको छ। धादिङको मलेखु र आदमघाट, मकवानपुरको पालुङ, मनहरी, र राक्सिराङ गाउँपालिकाको खैराङ हुँदै वैकुण्ठसम्म पुग्न सकिन्छ। गाउँपालिकाले भौतिक पूर्वाधारमा समेत लगानी बढाउँदै लगेको छ। अहिले विभिन्न नयाँ योजनाहरूमा होमस्टे कार्यक्रम, रिसोर्ट विकास, स्काई साइकलिङ, ट्रेकिङ मार्ग निर्माण, पदमार्ग सुधार, र भविष्यमा प्याराग्लाइडिङजस्ता साहसिक गतिविधि थप्ने तयारी समेत भइरहेको अध्यक्ष मोक्तानले जानकारी दिएका छन्।
साहसिकता, संस्कृति, प्रकृति र आध्यात्मिकताको संगम वैकुण्ठ अब केवल गाउँको नाम होइन, यो नयाँ नेपालको उदीयमान पर्यटकीय पहिचान बन्ने संकेत दिन थालेको छ। बागमती प्रदेश सरकारले समेत यस क्षेत्रमा लगानी बढाइरहेका बेला, वैकुण्ठले भविष्यमा राष्ट्रियस्तरको पर्यटकीय केन्द्रका रूपमा स्थापित हुने प्रबल सम्भावना बोकेको देखिन्छ।
Baikuntha Awakens: How a Remote Tamang Village Is Becoming Nepal’s New Adventure Destination



