हेटौँडा | महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ। विविध कार्यक्रमसहित सम्पन्न समारोहमा सहकारीको सामाजिक भूमिका, महिला नेतृत्वको प्रभावकारिता तथा आगामी योजना विषयक मन्तव्यहरू प्रस्तुत गरिएको थियो।
समारोहका प्रमुख अतिथि सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठले बागमती प्रदेशमा रहेका करिब १२ देखि १३ हजार सहकारी संस्थामध्ये दुई/तीन सय मात्र समस्याग्रस्त रहेको उल्लेख गर्दै महिलाको नेतृत्वमा सञ्चालित सहकारीहरू तुलनात्मक रूपमा बढी उत्तरदायी, अनुशासित र पारदर्शी रहेको बताए।
मन्त्रालयमा कार्यभार सम्हालेको चार महिनाको अवधिमा सबै सहकारीहरूको गतिविधि नियाल्दा जनस्तरसम्म सहकारीहरू प्रभावकारी रूपमा पुगेको अनुभव भएको उनले बताए। मन्त्री श्रेष्ठले सहकारीलाई गरिबी निवारण र आर्थिक समावेशिताको भरपर्दो आधारका रूपमा परिभाषित गर्दै सहकारी प्रणाली सुधारमा मन्त्रालयको प्रतिबद्धता दोहोर्याए। उनले सहकारीमार्फत सकारात्मक परिवर्तन सम्भव रहेको प्रष्ट पारे।
कार्यक्रमको सभाध्यक्ष संस्थाकी अध्यक्षता मिना थापाले गरेकी थिइन्। उनले महिला मिलन साकोसले विगत २५ वर्षमा गरेका प्रयास, सामुदायिकस्तरमा पुर्याएको योगदान र आगामी योजनाबारे प्रकाश पारिन्। कार्यक्रममा उत्कृष्ट ऋणी, बचतकर्ता, समूह र उद्यमीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
सामाजिक उत्तरदायित्वअन्तर्गत पदमपोखरी बहुमुखी क्याम्पसलाई संस्थाले २५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति सहयोगसमेत प्रदान गरेको छ।
पूर्वअध्यक्ष सुकुमाया थिङ र तदर्थ अध्यक्ष राममाया घिसिङले संस्थाको स्थापनाकालीन स्मृतिहरू साझा गर्दै महिलाहरूको साझा प्रयासले सहकारीलाई अहिलेको उचाइमा पुर्याएको उल्लेख गरे।