हेटौँडा | हेटौँडा अस्पतालको अस्तित्व जोगाउन माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीले कारबाही गरेपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्कीम श्रेष्ठविरुद्ध नाराबाजी भएको छ।
अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विलय गर्ने सरकारी प्रयास रहेको आरोप लगाउदै विरोधमा उत्रीयाका युवाहरूले आन्दोलन चर्काइरहेका छन्।
प्रजिअविरुद्ध हेटौँडाको बजार क्षेत्रमा नाराबाजी हुनु यसअघि कहिल्यै नदेखिएको घटना हो। प्रदर्शनकारीहरूले प्रजिअ श्रेष्ठलाई एमाले निकट भएको आरोप लगाउँदै ‘एमाले सिडिओ फिर्ता जा’, ‘हेटौंडा अस्पताल अलग गर’, ‘प्रहरी दमन मुर्दाबाद’, ‘रिहा गर’, जस्ता नाराहरू लगाएका थिए।
गत हप्ता हेटौँडा अस्पतालमा झुण्ड्याइएको ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ लेखिएको बोर्ड केही युवाहरूले हटाएका थिए। हेटौँडा अस्पतालको नाम, परिचय र ऐतिहासिकता मेटाएर प्रतिष्ठानमा गाभ्न खोजिएको उनीहरुको आरोप छ ।
यस घटनापछि प्रहरीले छ जना युवाहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमा सुनील गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे रहेका छन्।
मकवानपुर प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काले ती युवाहरूलाई छलफलका लागि बोलाएर नियन्त्रणमा लिएको बताईएको छ । उनीहरूलाई हाल जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
पक्राउको विरोधमा हेटौँडा बजारमा युवाहरूले प्रदर्शन गरेका थिए। जिल्ला प्रहरी कार्यालय अगाडि टायर जलाउनेदेखि नाराबाजीसम्म गरिएको थियो।
प्रदर्शनमा सहभागी युवाहरूले प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठमाथि निष्पक्ष नभएको आरोप लगाएका छन्। उनीहरूका अनुसार, प्रतिष्ठानको नाम जोडिएको सरकारी निर्णयलाई लागू गराउन प्रशासनले ‘एकतर्फी भूमिका’ खेलेको छ।
हेटौंडा अस्पताल बागमती प्रदेशको राजधानी हेटौँडाको पुरानो र सर्वसुलभ सरकारी अस्पताल हो। तर, प्रदेश सरकारले यसलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय गरेपछि लगातार विरोध हुँदै आएको छ। विरोधकर्ताहरूको भनाइमा, यो विलयले हेटौँडाको सुलभ स्वास्थ्य पहुँच, पुरानो संरचना र सामाजिक इतिहासलाई समाप्त पार्छ।
प्रदेश सरकारले भने प्रतिष्ठानमार्फत अत्याधुनिक स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रमको विकास गर्ने उद्देश्य राखेको बताउँदै आएको छ।
भिडियो:



