हेटौँडा | मानव सेवा आश्रम हेटौँडाले आज (शनिवार) हेटौँडा बजार क्षेत्रमा रात्रीकालीन सडक सेवा प्रदान गरेको छ। साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको यो सेवामार्फत सडकमा आश्रित अवस्थामा रहेका नागरिकहरूको उद्धार गरी सुरक्षित आवास, उपचार र पुनःस्थापनाको व्यवस्था गरिँदै आएको छ।
यस पटकको उद्धार अभियानमा मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमल्सिना, मकवानपुर संयोजक ईशा थापा, जिल्ला सह–संयोजक पूजा क्षेत्री, नगर प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको टोली सहभागी थियो। टोलीले सिमाचोकदेखि भुटनदेवी मन्दिर, बसपार्क, स्वर्गद्वारी क्षेत्र हुँदै तरकारी बजार एरीयासम्मको सडक क्षेत्रमा सेवा सञ्चालन गरेको हो।
अभियानका क्रममा एकजना बालिका, एकजना महिला र ६ जना पुरुषसहित जम्मा ८ जना सडक आश्रितहरूलाई उद्धार गरिएको आश्रमकी मकवानपुर जिल्ला सह–संयोजक पूजा क्षेत्रीले जानकारी दिइन्। उद्धार गरिएका सबैलाई आश्रममा लगेर नुहाइधुवाइ, खाना, स्वास्थ्य परीक्षण र प्राथमिक उपचार सेवा प्रदान गरिएको उनले बताइन्।
मानव सेवा आश्रमले देशभरि मानसिक असन्तुलनमा रहेका, परिवारबाट छुट्टिएका, बेवारिसे र सडकमा जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार र पुनःस्थापनामा काम गर्दै आएको छ। स्थानीय तह, प्रहरी प्रशासन तथा सामाजिक अभियन्तासँगको सहकार्यमा आश्रमले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक हप्ता नियमित रूपमा यस्ता सेवा सञ्चालन गर्दै आइरहेको छ।



