काठमाडौं | शिक्षकहरूको निरन्तर आन्दोलन चर्किरहेको बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार बिहान बालुवाटारमा भेट गरी उनले औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।
शिक्षा मन्त्रालय स्रोतका अनुसार मन्त्री भट्टराई लगातारको शिक्षक आन्दोलन, वार्तामा ठोस सहमति नआएको स्थिति र चौतर्फी आलोचनाका कारण घेराबन्दीमा परेकी थिइन्। यसै सन्दर्भमा उनले पदत्याग गर्ने निर्णय लिएको बताइएको छ।
आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ, जहाँ उनको राजीनामा स्वीकृत हुने सम्भावना रहेको उच्च स्रोतको भनाइ छ।
शिक्षकमाथि सरकारले ल्याएको शिक्षा ऐन संशोधन प्रस्तावको विरोधमा शिक्षकहरू एक महिनादेखि आन्दोलनमा छन्। आन्दोलनका क्रममा विद्यालयहरू बन्द छन् भने शिक्षा मन्त्रालयमा बारम्बार भएका संवादहरू पनि निष्कर्षमा पुग्न सकेका छैनन्।
विद्या भट्टराई सन् २०७६ मा ताप्लेजुङको पाथीभरा नजिक हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन्। त्यसपछिको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर–२ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्।
२०७९ सालको निर्वाचनमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि उनी ३१ असार २०८० मा शिक्षामन्त्री बनेकी थिइन्।
उनको कार्यकालमा शिक्षा क्षेत्र सुधारका केही प्रयासहरू भए तापनि शिक्षक सरुवा, पाठ्यक्रम सुधार, र आन्दोलनका मुद्दाले मन्त्रालयलाई दबाबमा राखेको थियो।
अब शिक्षामन्त्रीको रिक्त पदमा नयाँ नियुक्ति कसलाई दिने भन्नेबारेमा प्रधानमन्त्रीको नेतृत्वमा छलफल हुने सम्भावना छ।