कालिकोट | कालिकोटको पलाँता गाउँपालिकामा आइतबार राति भएको एक ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। विकट भेगमा कच्ची सडकमा भएको उक्त दुर्घटना कर्णाली नदी पारिको लार्फ भन्ने स्थानमा भएको हो।
पलाँता-९ थिर्पुबाट पलाँता-२ खिनको छलाहातर्फ जाँदै गरेको ट्याक्टर राति करिब १२:०५ बजे दुर्घटनामा परेको हो। प्रहरीका अनुसार ट्याक्टरमा चार जना सवार थिए र सबैको घटनास्थलमै ज्यान गएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा अम्बा शाही (पलाँता–५), सदु बुढा (पलाँता–४), रवीन्द्र विक (पलाँता–४) र ट्याक्टर चालक चन्द्रप्रकाश रोकाया (मुगु, खत्याड–५) रहेका छन्।
शवहरू पोष्टमार्टमका लागि तयारीमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार दुर्घटनाको मुख्य कारण अँध्यारो र जोखिमपूर्ण कच्ची सडक हो। “सडक न साँघुरो छ, न त बिजुली बत्ती छ। यस्तो ठाउँमा राति यात्रा गर्नु आफैंमा खतरा हो,” डिएसपी रावतले बताए।
घटनापछि गाउँमा शोकको वातावरण छ। स्थानीयवासीहरूले सडक सुधारको माग गरेका छन्।
“हरेक वर्ष हामी मान्छे गुमाइरहेका छौं। सरकारको ध्यान कर्णालीतिर कहिले जाला?” एक स्थानीय युवकले गुनासो गरे।
गाउँपालिका र जनप्रतिनिधिहरूले सुरक्षित सडक निर्माणको प्रतिबद्धता जनाएका छन्। तर दुर्गमता, बजेट अभाव र नीति कार्यान्वयनको कमजोर अवस्थाले यी वाचा कहिले पूरा हुन्छन् भन्नेमा स्थानीयवासी सशंकित छन्।
पलाँता कर्णाली प्रदेशकै एक दुर्गम र पहुँचविहीन क्षेत्रमध्ये पर्छ। यहाँ सवारी साधनको रुपमा खच्चड तथा ट्याक्टर बढी प्रयोग गरिन्छ। वर्षायाम तथा हिउँदका समयमा यात्रा झन् जोखिमपूर्ण हुन्छ।