हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७ लचकास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक अन्दाजी ६०–६१ वर्षकी महिलाको ज्यान गएको छ।
बुधबार राति करिब ८:३५ बजे मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको नम्बर नखुलेको एनएस मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो। घटनापछि मोटरसाइकल चालक फरार भएका थिए।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको टोली घटनास्थलमा पुगेको थियो। घाइते महिलालाई तत्काल उद्धार गरी मनहरी अस्पताल लगिएको थियो। तर टाउकोमा गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि हेटौँडा अस्पताल रेफर गरिएको थियो। राति ९:४२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि भागेका मोटरसाइकल चालकलाई खोजतलास गर्ने क्रममा प्रहरीले राति ९:३० बजे मनहरी–६, प्रतापुर बस्ने ३२ वर्षीय मन्शु गुरुङलाई घरबाटै पक्राउ गरेको छ। प्रहरीका अनुसार, उनीसँगै बा ६२ प १११४ नम्बरको क्षतिग्रस्त मोटरसाइकल (लेगार्ड र भिजर फुटेको अवस्थामा) पनि बरामद गरिएको हो।
मृतक महिलाको सनाखत हालसम्म हुन सकेको छैन। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।