बागमती प्रदेशमकवानपुरमाटो बचाऊ, किसान बचाऊ : विषरहित खेतीका लागि देशव्यापी जागरण!

माटो बचाऊ, किसान बचाऊ : विषरहित खेतीका लागि देशव्यापी जागरण!

जैविक कृषि जागरण अभियान २०८२ मकवानपुरमा

हेटौँडा | “खानाका लागि विषरहित खेतीपाती गरौँ, तुलनात्मक लाभ भएका कृषि उपज प्रवद्र्धन गरी किसानको आम्दानी र रोजगारी बढाऔँ” भन्ने नाराका साथ सुरु गरिएको जैविक कृषि जागरण अभियान २०८२ ले अहिले मकवानपुर जिल्लामा प्रवेश गरेको छ। एक महिनासम्म सञ्चालन हुने यो अभियान वैशाख ९ गते काठमाडौँबाट सुरु भएको हो।

अभियान संयोजक उद्धव अधिकारीका अनुसार हालको खाद्य प्रणाली, खेतीपाती र वातावरण एक गम्भीर संकटमा फसेको छ। “निरन्तर रासायनिक मल र विषादीको प्रयोगले नेपालको माटो मर्ने, पानी चक्र बिग्रिने र खाद्य सुरक्षामा गम्भीर जोखिम देखिएको छ,” अधिकारीले बताए। उनले थपे, “हामी माटो बचाउने, विषमुक्त खाना सुनिश्चित गर्ने र किसानलाई न्याय दिलाउने साझा अभियानमा होमिएका छौँ। जलवायु परिवर्तनसँगै माटो बाँझिँदै गएको र हाम्रो खानपानमा आयातित अल्पपोषक प्रशोधित वस्तुले ठाउँ लिएको यथार्थ निकै चिन्ताजनक छ।”

अभियानले नेपालका पूर्वी क्षेत्रका २२ जिल्लामा पुग्ने लक्ष्य राखेको छ। अहिलेसम्म काभ्रे, सिन्धुली र मकवानपुरमा कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी जिल्लामा क्रमिक रूपमा जागरण कार्यक्रम सञ्चालन हुँदैछ। मकवानपुरमा अभियान टोलीले किसानहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै विषरहित खेतीका विकल्प, स्थानीय बीउको महत्व, र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उपायहरूबारे संवाद गरेको अभियान संयोजक अधिकारीले शनिबार हेटौँडामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए।

सरकार र सरोकारवाला निकायप्रति असन्तुष्टि व्यक्त गर्दै अधिकारीले भने, “कृषिक्षेत्रको उन्नतिका लागि संघीय ऐन र प्रभावकारी नीति निर्माण हुन सकेको छैन। खाद्य अधिकार र खाद्य संप्रभुता ऐन बनेपनि कार्यान्वयनमा चरम लापरवाही देखिन्छ। सरकारी अधिकारीहरू खाद्य सुरक्षा र बीउ संरक्षणलाई प्राथमिकता बताउँछन्, तर व्यवहारमा तिनै दलाललाई फाइदा पुर्‍याउने बेथितिहरू दोहोरिरहेका छन्।”

अभियान टोलीले बागमती प्रदेश सभाका सभामुख, उपसभामुख र विभिन्न समितिका सभापतिहरूसँग पनि भेटघाट गर्दै किसानका समस्या र रासायनिक विषादीका दुष्प्रभावबारे जानकारी गराएको छ। प्रदेशका नेताहरूले आगामी नीति तथा कार्यक्रममा कृषि प्रणालीलाई प्रकृतिमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। तर अभियानकर्ताहरू सरकारी कार्यान्वयन क्षमताप्रति अझै सशंकित रहेको बताउँछन्।

जैविक कृषि जागरण अभियानले आधुनिक र व्यवसायिक भनिएको बाहिरी रसायनमा आधारित खेतीको बाटो गलत भएको तर्क गर्दै स्थानीय विशेषता अनुरूप, माटो र जलवायुसँग समन्वय गर्ने खेती प्रणाली मात्र नेपालको लागि दीगो विकल्प भएको बताएको छ।

अभियानको क्रममा टोलीले विभिन्न जिल्लाका किसानहरूसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समुदायसँग अनुभव साट्ने, र विषरहित खेतीबारे सचेतना अभिवृद्धि गर्ने कार्यतालिका तयार पारेको छ। वैशाख महिनाभर देशभरि सञ्चालित हुने अभियानले मकवानपुरपछि पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ, झापा र इलामलगायत जिल्लामा विविध कार्यक्रम सञ्चालन गर्ने अभियान्ता दिपेश नेपालले जानकारी दिए।

यात्राको क्रममा प्रत्येक ठाउँमा स्थानीय उत्पादन, माटो स्वास्थ्य, पानी संरक्षण, जैविक विविधता जोगाउने र किसानको श्रमको सम्मानका विषयमा गहन छलफल र अभ्यास गरिनेछ। अभियान टोलीले विद्यालय, कृषि फार्म, पालिका कार्यालय तथा किसान समूहहरूसँग भेटघाट गरी स्वस्थ, स्वावलम्बी र पोषिलो खाना प्रणाली निर्माणमा सबै तहका सरकार र समुदायलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्दैछ।

अभियानकर्ताहरूको विश्वास छ — यदि हामीले समयमै रासायनिक खेतीको लतबाट बाहिर ननिस्किए, हाम्रो माटो, पानी र बीउ सधैँका लागि नष्ट हुनेछ र हामी आयातित विषालु खाद्यान्नमा आश्रित हुन बाध्य हुनेछौं। “हामीसँग अझै समय छ — फोहोरी खेती त्यागौं, विषमुक्त भविष्य रोजौं,” उनीहरूले बताए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img