समाजओलीको नयाँ सन्देश : 'हल्लाको पछि नलाग, काम र स्थायित्वमै ध्यान देऊ'

ओलीको नयाँ सन्देश : ‘हल्लाको पछि नलाग, काम र स्थायित्वमै ध्यान देऊ’

काठमाडौं | प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला फिजाउनेहरूलाई ठाडो जवाफ दिँदै सांसदहरूलाई आफ्नो मिसन र काममा केन्द्रित रहन आह्वान गरेका छन्।

आज संसद्को बजेट अधिवेशन प्रारम्भको सन्दर्भमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भन्ने अफवाहलाई नक्कली सपना भनेका छन्। उनले भने, “शेरबहादुरजी फर्किएपछि सरकार ढल्ने भनेका थिए। अब उनीहरू आफैँ गले। सरकार ढल्दैन। त्यसैले हल्लाको पछि लाग्न जरुरी छैन।”

प्रधानमन्त्री ओलीले अबको प्राथमिकता मुलुकमा स्थिरता, विकास, सुशासन र समृद्धि कायम गर्ने रहेको स्पष्ट पारे। उनले आगामी आर्थिक वर्षका लागि सरकार सन्तुलित र यथार्थपरक नीति तथा बजेट तयार पार्ने तयारीमा केन्द्रित भएको जानकारी दिएका छन्।

एमाले अध्यक्ष ओलीले संसद्मा उपस्थित सांसदहरूलाई दस्तावेज र नीतिहरूको तुलनात्मक अध्ययन गर्दै जनताका समस्या उठाउने र समाधानका उपाय प्रस्तुत गर्ने कार्यमा गहिरिएर लाग्न निर्देशन दिए। “हल्ला होइन, तथ्य, प्रमाण र समाधान बोकेर अघि बढ्नुपर्छ,” उनले भने।

अध्यक्ष ओलीले विरोधी शक्तिहरू हिंसात्मक र संविधानविरोधी गतिविधिको बाटो रोजिरहेको टिप्पणी गर्दै यस्ता क्रियाकलापमाथि सरकार आवश्यक परे कडा कानुनी कदम चाल्न पछि नपर्ने चेतावनीसमेत दिएका छन्।

अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अब निष्क्रिय भइसकेकाले नेपालले आफ्नै बलबुतामा विकासको बाटो पहिल्याउनुपर्ने विचार राखे। उनले भने, “अरुको भर पर्नु हुँदैन, अब आफैँ आत्मनिर्भर बन्ने बेला आएको छ।”

एमालेको “मिशन २०८४” लाई बलियो राष्ट्रिय शक्ति बनाउने योजनामा आन्तरिक एकता र पारस्परिक सहकार्य अत्यावश्यक रहेको भन्दै ओलीले सांसदहरूलाई मर्यादित र सुसंस्कृत ढंगले जनमुखी राजनीति गर्न विशेष आह्वान गरे।

“अब कोही पनि पुराना हल्ला, नाटक र फसाउनहरूको पछि नलाग्नुस्,” प्रधानमन्त्री ओलीले अन्तिममा जोड दिंदै भने, “जनताका सपना बोकेर अघि बढ्नुस्, मिसनमा लाग्नुस्। यही बाटोले एमाले र मुलुक दुवैको भविष्य बनाउनेछ।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img