देशबागमती प्रदेशसिटिईभीटी र टिभिटीबीच सहमति : बागमतीका युवालाई राष्ट्रिय सीप परीक्षणको बाटो खुल्यो

सिटिईभीटी र टिभिटीबीच सहमति : बागमतीका युवालाई राष्ट्रिय सीप परीक्षणको बाटो खुल्यो

भक्तपुर | बागमती प्रदेशका सीप सिकेका युवाले अब राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र पाउने भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) र बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (टिभिटी)बीच राष्ट्रिय सीप परीक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो।

भक्तपुरको सानोगाउँस्थित सिटिईभीटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा भएको सहमतिपछि अब टिभिटीबाट तालिम पूरा गरेका प्रशिक्षार्थीले राष्ट्रिय सीप परीक्षण समितिबाट प्रमाणिकरण परीक्षा दिन सक्नेछन्।

सम्झौतामा सिटिईभीटी अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक भुवनेश्वर ढुङ्गाना, उपनिर्देशक केशव घिमिरे, टिभिटीकी प्रमुख कार्यकारी निर्देशक शान्ति लामा र कार्यालय प्रमुख देवनारायण चौधरी सहभागी थिए।

रोजगारी र स्वरोजगारमा टेवा पुग्ने

सीप प्रमाणिकरणको बाटो खुलेसँगै अब प्रदेशमै प्राप्त सीपको औपचारिक मान्यता हुने भएकाले युवाहरूको रोजगारी, स्वरोजगार र व्यवसायमा टेवा पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा निर्देशक शान्ति लामाले अब तालिमका नाममा तालिम मात्र लिने होइन, सीप सिकेर व्यवसायिक बन्ने वातावरण बनाइने बताइन्।

उनका अनुसार चालु आर्थिक वर्षमा दोहोरिएर तालिम लिएका प्रशिक्षार्थीलाई सीप परीक्षणमा सहभागी गराइने छैन। पटक–पटक तालिम लिने प्रवृत्तिले वास्तवमै इच्छुक युवाहरू ओझेलमा परिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

लामाले आगामी आर्थिक वर्षमा बागमती प्रदेश सरकारले एक लाखभन्दा बढी नागरिकलाई सीप सिकाउने योजना बनाएको जानकारी दिइन्। उनका अनुसार सरकार सिर्जनशील रोजगारी र आम्दानीमुखी कार्यक्रमहरूमा केन्द्रित हुँदैछ।

परीक्षा तालिम स्थलमै
राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक ढुङ्गानाले तालिम लिएका स्थानमै पुगेर सीप परीक्षण लिइने व्यवस्था गरिने जानकारी दिए। यस्तो व्यवस्थाले स्थानीय तहमै परीक्षा सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img