हेटौँडा | लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ लाई बुधबार औपचारिक रूपमा खोप हस्तान्तरण गरिएको छ।
एक कार्याक्रम बीच पशु सेवा कार्यालय मकवानपुरको आयोजना र उपमहानगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको निशुल्क खोप अभियान अन्तर्गत ती वडालाई खोप प्रदान गरिएको हो।
पशु सेवा कार्यालयका प्रमुख बज्र किशोर ठाकुरले वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, वडा नं. १७ का वडाध्यक्ष उद्धव सत्याल र वडा नं. १८ का कार्यवाहक वडाध्यक्ष योगराज खतिवडालाई संयुक्त रूपमा खोप हस्तान्तरण गरेका हुन् ।
खोप वितरण कार्यक्रम अन्तर्गत वडा नं. १७ लाई २ हजार डोज, वडा नं. १६ र १८ लाई १-१ हजार डोज खोप प्रदान गरिएको छ। थप १ हजार डोज खोप स्टकमा रहेको र आवश्यकताअनुसार थप पठाइने पशु सेवा कार्यालयका डाक्टर मदन भण्डारीले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष रामकृष्ण कोइरालाले खोप अभियानमा स्थानीय कृषकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे । पशुपालन धेरै हुने क्षेत्र भएकाले रोग फैलिनुअघि नै खोप लगाउन सके कृषकहरूले ठूलो क्षति हुनबाट जोगिन सक्ने उनले बताए ।
त्यस्तै, कार्यालय प्रमुख ठाकुरले विगतमा लम्पी स्किनका कारण किसानहरूले ठूलो क्षति बेहोर्नु परेको स्मरण गराउँदै बेलैमा सचेत भई रोकथाम गर्नुपर्ने आवश्यकता औंल्याए । खोप अभियानका क्रममा आवश्यक प्राविधिक परिचालन गरी खोप लगाइने उनले जानकारी दिए ।
पशु सेवा कार्यालयका डा. विजय पौडेलले लम्पी स्किन रोगबारे जानकारी दिँदै यो भाइरसबाट सर्ने रोग भएको र यसको विशेष उपचार नभएको स्पष्ट पार्नुभयो। रोगी पशुका लक्षणअनुसार उपचार गर्नुपर्ने बताउँदै, ज्वरो घटाउने, चिलाउन कम गर्ने, घाउ सुकाउने तथा झिँगा बस्न नदिने उपायहरू अपनाउनुपर्ने सल्लाह दिए ।



