समाजमन्त्री खड्का भन्छन् - सामाजिक सञ्जालमा फैलिएको ‘लोडसेडिङ’को हल्ला मात्रै

मन्त्री खड्का भन्छन् – सामाजिक सञ्जालमा फैलिएको ‘लोडसेडिङ’को हल्ला मात्रै

काठमाडौं |  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएको ‘लोडसेडिङ भएको’ भन्ने चर्चा आधारहीन र तथ्यहीन भएको स्पष्ट पारेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले हाल नेपालमा विद्युत् उत्पादन पर्याप्त मात्रामा भएको उल्लेख गर्दै लोडसेडिङ नभई प्राविधिक कारणले केही स्थानमा आपूर्ति अवरुद्ध भएको हुनसक्ने बताए।

मन्त्री खड्काले वर्तमान अवस्थामा नेपालले आन्तरिक माग सहज रूपमा पूरा गर्न सकेको जानकारी दिँदै, आजैदेखि भारततर्फ विद्युत् निर्यात सुरु भएको बताएका छन्। उनका अनुसार वर्षा सुरु भएसँगै विद्युत् उत्पादन बढेको र यसैकारण भारतबाट भइरहेको आयात रोकिएको छ। अघिल्लो चरणमा भारतबाट करिब ३५० मेगावाट विद्युत् आयात भइरहेको थियो।

नेपाल विद्युत् प्राधिकरणले मंगलबार मध्यरातदेखि ७३१ मेगावाट विद्युत् भारतमा निर्यात भइसकेको पुष्टि गरेको छ।

मन्त्री खड्काले लोडसेडिङ भएको भन्ने दाबीप्रति आपत्ति जनाउँदै यसलाई नियोजित रूपमा भ्रम फैलाउने अभियान को संज्ञा दिएका छन्। उनले विदेशमा रहेका केही व्यक्तिहरूले बारम्बार फोन गरेर ‘हामीकहाँ बत्ती गयो’ भन्ने गुनासो गरे पनि त्यसको कुनै प्रामाणिक आधार नभेटिएको बताए।

“हामीले जब सो स्थानमा परीक्षण गर्छौं, त्यहाँ विद्युत् आपूर्ति नियमित पाइन्छ,” मन्त्री खड्काले भने, “हावाहुरी, पोल ढल्नु, तार चुँडिनु वा मर्मत कार्यजस्ता प्राविधिक कारणले अस्थायी अवरोध हुनसक्छ, तर त्यो लोडसेडिङ होइन।”

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले कुनै पनि अवरोधका सूचना समयमै सार्वजनिक गर्दै आएको स्मरण गराउँदै, वर्तमानमा विद्युत् उत्पादन मागभन्दा बढी रहेको र लोडसेडिङको सम्भावना नरहेको प्रष्ट पारे।

उनका अनुसार विगतका वर्षहरूमा पनि वर्षको करिब ७ सय घण्टासम्म प्राविधिक कारणले विद्युत् अवरुद्ध हुने गरेको थियो, तर त्यो नियन्त्रित र अस्थायी हुने बताइएको छ।

भविष्यमा आन्तरिक खपत अझै बढ्ने प्रक्षेपण गरिएको उल्लेख गर्दै मन्त्री खड्काले उत्पादन क्षमतामा निरन्तर वृद्धि गरिने योजना रहेको जानकारी दिए।

उनले जनतालाई अफवाहमा होइन, तथ्यमा विश्वास गर्न आग्रह गरे। “हामीसँग पर्याप्त विद्युत् उत्पादन छ, आपूर्ति सन्तुलनमा छ, र लोडसेडिङको कुनै खतरा छैन,” मन्त्री खड्काले भने।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img