हेटौँडा | हेटौँडामा असार १२ र १३ गते “सीप महोत्सव २०८२” सञ्चालन हुने भएको छ । बागमती प्रदेशमा उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक मानव संसाधन र हाल बजारमा उपलब्ध जनशक्तिबीचको खाडल पुर्दै रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूबीच सामञ्जस्य कायम गर्ने उद्देश्यका साथ महोत्सव आयोजना हुने भएको हो ।
बागमती प्रदेश उद्योग परिसंघ र सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा असार १२ र १३ गते हेटौँडाको रोयल प्यालेसमा यो महोत्सव सञ्चालन हुनेछ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले महोत्सवको मुख्य उद्देश्यहरू स्पष्ट पारेका छन्। बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष नेत्रराज पोखरेलले महोत्सवले सीप विकासका विविध आयामहरूलाई प्रवर्द्धन गर्ने बताए । उनका अनुसार महोत्सवमा सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन क्षेत्रका १८ जना प्रतिस्पर्धीले बागमती प्रदेशस्तरीय सीप प्रतियोगितामा भाग लिनेछन्।
कार्यक्रममा इलेक्ट्रिकल र बाल विकास सहजीकरण विधामा लाइभ तालिम, एक हजारभन्दा बढी विद्यार्थी तथा युवाहरूका लागि साइकोमेट्रिक परीक्षण, वृत्ति परामर्श सत्र, र उद्योग भ्रमण समावेश गरिएको उनले बताए । यसका साथै, उत्कृष्ट प्रशिक्षार्थी, शिक्षण संस्था र उद्योग संघहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ।
बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष नेत्रराज पोखरेलले यस महोत्सवलाई “केवल कार्यक्रम नभएर एउटा अभियान” को संज्ञा दिएका छन्। उनले यसले सरकार, उद्योग, प्राविधिक शिक्षण संस्था र युवालाई एकै मञ्चमा ल्याएर सीपको माध्यमबाट राष्ट्रिय उन्नति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। पोखरेलले यस अवसरमा विदेश पलायन रोक्न स्वदेशमै दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनाको महत्त्वमा जोड दिए।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका महाशाखा प्रमुख घनश्याम खनालले यो आयोजनाले प्रदेशभरिका युवाहरूलाई प्राविधिक शिक्षा, व्यावसायिक तालिम र अप्रेन्टिसशिप कार्यक्रमका अवसरहरूसँग परिचित गराउने बताए। उनले डुअल भेट प्रशिक्षण कार्यक्रम मार्फत उद्योग र शैक्षिक संस्थाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको पनि उल्लेख गरे।
इन्स्योर परियोजना (हेल्भेटास नेपाल) को प्राविधिक सहयोगमा आयोजना भइरहेको यस कार्यक्रममा होटल एसोसिएसन नेपाल, नाडा अटोमोबाइल्स एसोसिएसन, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्लगायतका संस्थाहरूले सहयोग रहने जनाईएको छ ।