हेटौँडा | पाटे बाघ संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष जुलाई २९ मा मनाइने ‘विश्व बाघ दिवस’ यसपालि पनि नेपालमा विविध कार्यक्रमसहित मनाइएको छ। सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित पहिलो विश्व बाघ सम्मेलनले यस दिवसको थालनी गरेपछि नेपालमा समेत यो अवसरमा विशेष चासो दिइदै आएको छ।
नेपालले सन् २००९ मा रहेका १२१ वटा पाटे बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। त्यसयता संरक्षणका विभिन्न प्रयासस्वरूप बाघको संख्या क्रमिक रूपमा वृद्धि हुँदै सन् २०२२ को अन्तिम गणनामा झण्डै तेब्बर वृद्धि भएर ३५५ पुगेको छ। बाघको यो उल्लेखनीय वृद्धि संरक्षणको दृष्टिकोणले सराहनीय भए पनि व्यवस्थापनका पक्षमा भने नयाँ चुनौतीको रूपमा देखिएको छ।
वन तथा वातावरण मन्त्रालयका अनुसार बाघको संख्या वृद्धि भएसँगै मानव–बाघ द्वन्द्व, चोरीसिकारीको जोखिम, बासस्थानको संकट र समस्याग्रस्त बाघ व्यवस्थापनजस्ता बहुआयामिक समस्या देखा परेका छन्। विशेषगरी मध्यवर्ती क्षेत्रका बासिन्दा दैनिक जीविकोपार्जनका लागि घाँस, दाउरा वा निहुरो टिप्न जङ्गल प्रवेश गर्ने क्रममा बाघको आक्रमणमा पर्ने क्रम बढ्दो छ। यस्तै, केही बाघहरू मानव बस्तीमा प्रवेश गरेर घरेलु जनावर मार्ने, घाइते अवस्थामा भेटिने वा पूर्वाधार निर्माणस्थल पार गर्ने क्रममा दुर्घटनामा पर्नेजस्ता समस्याहरू पनि थपिएका छन्।
नेपालमा बाघको संख्या कुन तहसम्म बढ्न सक्ने भन्ने बहस पछिल्लो समय तीव्र बनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल तथा जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) सहितका संस्थाले हाल बाघको ‘क्यारिङ क्यापासिटी’ सम्बन्धमा संयुक्त अध्ययन गरिरहेका छन्। अध्ययनको प्रारम्भिक नतिजा अनुसार नेपालले करिब ४०० बाघ धान्न सक्ने वातावरणीय क्षमता राख्छ।
जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा. भगवानराज दाहालका अनुसार अहिलेको संख्या अधिक छैन। उनका अनुसार, “बाघलाई आफ्नो बासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा, पानीको स्रोत र पर्याप्त घाँसेमैदान आवश्यक छ। अहिले संरक्षणको क्षेत्र कम छैन, तर बासस्थानको गुणस्तरीयता अभिवृद्धि गर्नुपर्छ।” उनले हालको संरक्षण क्षेत्रमै अझ बढी बाघ रहनसक्ने सम्भावना रहेको उल्लेख गरे।
नेपालमा बाघ संरक्षणसँग जोडिएको अर्को गम्भीर चुनौती भनेको मानव–बाघ द्वन्द्व हो। बाघले आफ्नो प्राकृतिक बानी व्यवहार परिवर्तन नगर्ने भएकाले द्वन्द्व न्यूनीकरणका लागि मानव पक्षले आफ्ना आनीबानीमा परिवर्तन गर्नु जरुरी रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. चिरिञ्जीवीप्रसाद पोखरेल बताउँछन्। उनका अनुसार संरक्षणसँगै समुदायमा जनचेतना फैलाउने, सीपमूलक तालिम र वैकल्पिक आयआर्जन कार्यक्रम सञ्चालन गर्ने कार्यहरू अघि बढाइएका छन्।
पछिल्लो गणनाअनुसार सबैभन्दा बढी १२८ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा र १२५ वटा बर्दियामा छन्। त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेका छन्। विगतमा सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ वटा बाघ रहेका थिए।
डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङका अनुसार बाघ नेपालको पर्यापर्यटनको महत्वपूर्ण धरोहर हो। उनले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका बासिन्दालाई जङ्गलमा नपस्ने गरी वैकल्पिक जीविकोपार्जनको व्यवस्था गर्नु आवश्यक रहेको बताए। “वासस्थानको राम्रो व्यवस्थापन गर्न सके बाघ जङ्गलभित्रै सीमित रहन्छन्,” उनले भने, “स्थानीय समुदायलाई पनि जीविकोपार्जनका लागि जङ्गल जानुपर्ने अवस्था अन्त्य गर्न सक्ने उपायहरूमा सबै सरोकारवालाले ध्यान दिनुपर्छ।”
विश्वस्तरमा हेर्दा सन् १९०० मा करिब एक लाख बाघ रहेको अनुमान गरिए पनि सन् २०१० सम्म आइपुग्दा उक्त संख्या घटेर तीन हजार २०० मा झरेको थियो। त्यसपछि संरक्षण अभियानको सफलतासँगै सन् २०१६ मा तीन हजार ९०० र सन् २०२२ मा चार हजार ५०० पुगेको थियो। पछिल्लो सन् २०२५ को विश्व तथ्याङ्कअनुसार बाघको संख्या बढेर ५,३५७ पुगेको छ। त्यसमा भारतमा सबैभन्दा धेरै ३,१६७ बाघ छन् भने नेपाल ३५५ बाघसहित चौथो स्थानमा छ।
नेपालमा हाल १८ वटा समस्याग्रस्त बाघ विभिन्न संरक्षण क्षेत्रका खोरमा राखिएका छन्। तीमध्ये ललितपुरस्थित जावलाखेल चिडियाखानामा पाँच, चितवनमा सात, बर्दियामा चार र बाँके तथा पर्सामा एक–एक बाघ छन्। यस्ता बाघको हेरचाह, आहारा, औषधोपचार तथा व्यवस्थापनमा राज्यले ठूलो रकम खर्च गर्दै आएको छ।
हालसम्म समस्याग्रस्त बाघ व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना, अन्तर्राष्ट्रिय कूटनीतिमार्फत उपहारस्वरूप मित्रराष्ट्रलाई प्रदान गर्ने, प्रदेशस्तरका चिडियाखानामा व्यवस्थापन गर्ने वा कुनै विकल्प नबन्दा विशेष निर्णयको बहस पनि सुरु भएको छ।
निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार छिमेकी मुलुक भारतको निकुञ्जसँग तुलना गर्दा नेपालमा बाघको घनत्व अस्वाभाविक छैन। उनी भन्छन्, “गुणस्तरीय घाँसेमैदान, आहारा र पानीको स्रोत बढाउन सके अहिलेको क्षेत्रफलमै थप बाघ व्यवस्थापन गर्न सकिन्छ।” उनले मानव–बाघ सहअस्तित्वका लागि विभागले विभिन्न निकायसँग समन्वयमा कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए।
नेपालले विसं २०६७ देखि विश्व बाघ दिवस मनाउँदै आएको छ। संरक्षणको यो प्रगतिलाई सन्तुलन, सहअस्तित्व र दीर्घकालीन व्यवस्थापनमार्फत मात्र दिगो बनाउन सकिने विज्ञहरूको जोड रहेको छ।



