हेटौँडा | मकवानपुरमा कार्यरत महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि विशेष कोष स्थापना गरिएको छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको यो कोषमा हेटौँडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ अनुदान दिने भएको हो ।
उपमहानगर प्रमुख मीनाकुमारी लामाले बिहीबार कोषको उद्घाटन गर्दै महिला पत्रकारको स्वास्थ्य सुरक्षामा लक्षित कदमले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिन्। उनले महिलाको हकहितप्रति स्थानीय तह संवेदनशील रहेको उल्लेख गर्दै व्यक्तिगत रुपमा समेत १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिन्।
उपमहानगर उपप्रमुख राजेश बानियाँले यो पहललाई ऐतिहासिक भन्दै महिला पत्रकारहरूको स्वास्थ्य र पेशागत सुरक्षामा यसले बल पुर्याउने धारणा राखे। उनले समेत १० हजार सहयोग गर्ने घोषणा गरे।
त्यसैगरी महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, ब्रोडकास्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईं, वरिष्ठ पत्रकार प्रताप विष्ट, पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष सम्झना कार्की लगायतले समेत व्यक्तिगत सहयोगको घोषणा गरे। महासंघ मकवानपुर शाखा कार्यसमितिबाट ११ हजार रुपैयाँ संकलन गरी कोषमा राखिएको छ।
कोषले मकवानपुरका महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ मकवानपुरले स्यानिटरी प्याड तथा सुत्केरी महिला पत्रकारका लागि खाद्य सामग्री प्रदान गरेको थियो। त्यस्तै सहयोगी मन नेपालले पत्रकार महासंघलाई रक्तचाप नाप्ने उपकरण उपलब्ध गराउनुका साथै सुत्केरी पत्रकारलाई प्रतिव्यक्ति पाँच लिटर तेल सहयोग गर्ने घोषणा गरेको छ।



