हेटौँडा | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको र यस कारण नेपालमा मनसुन कमजोर बनेको जनाएको छ। बंगालको खाडीबाट भने जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी विभागले दिएको छ।
दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहने, बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
कोशी प्रदेशको तराई तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनामा ध्यान दिन र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज सूर्योदय बिहान ५ बजेर ३७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ६ बजेर ३६ मिनेटमा हुनेछ।



