हेटौँडा | मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं. ६ दुम्रेकुनामा रहेको धनडाढा क्षेत्रमा विद्युतीय सुरक्षाको गम्भीर समस्या देखिएको छ। स्थानीय बासिन्दाका अनुसार, लगभग ३०० मिटर लामो बिजुलीको तार भुइँमै लथालिङ्ग अवस्थामा छ।
इन्फोनेपाल अनलाइनको टोलीले स्थलगत निरीक्षण गर्दा उक्त समस्या प्रत्यक्ष देख्न सकिएको छ। चार महिनादेखि यस खतरनाक अवस्थामा बिजुली आपूर्ति भइरहेको र स्थानीय बासिन्दाहरू अत्यन्त डर र त्रासमा बाँच्न बाध्य भएको पाइएको छ।
स्थानीय बासिन्दा राम कार्कीले बताए अनुसार, यस समस्याबारे वडा कार्यालयदेखि विद्युत प्राधिकरणसम्म जानकारी गराइएको तीन महिना बितिसक्दा पनि कुनै समाधान आएको छैन। उनले भने, “हामीलाई घाँस दाउरा गर्न जानसमेत गाह्रो भएको छ। कतै ज्यान नै जाने त होइन भन्ने डर छ।”
यस खतरनाक अवस्थाले गर्दा स्थानीयहरूको दैनिक जीवन प्रभावित भएको छ। आवतजावत र घरायसी कामकाजमा समेत कठिनाई उत्पन्न भएको छ।
विद्युत प्राधिकरणका अधिकारीहरूसँग यस विषयमा प्रतिक्रिया लिने प्रयास गरिएको थियो, तर उनीहरूबाट कुनै जवाफ प्राप्त हुन सकेन।
यस गम्भीर समस्याको तत्काल समाधान नभए ठूलो दुर्घटना हुनसक्ने खतरा रहेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई शीघ्र कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।