हेटौँडा | नेपाल पत्रकार महासंघको भोली (मंसिर २८) गते हुन लागेको चुनावको वास्तविक उद्देश्य र भविष्यमा गम्भीर प्रश्न उठाएको छ। पत्रकारिता, जसलाई लोकतन्त्रको चौथो अंग मानिन्छ, स्वतन्त्र र निष्पक्ष हुनुपर्ने आधारभूत मान्यतामाथि यस चुनावले ठूला आघात पुर्याउने संकेत दिएको छ।
पछिल्ला दिनहरूमा देखिएका गतिविधिहरूले महासंघलाई दलगत स्वार्थका लागि उपयोग गरिएको संगठनको रूपमा उजागर गरेको छ। अझै, भातृ संगठनहरूले महाधिवेशन जित्नका लागि गठबन्धन गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्, जसमा राजनीतिक नेतृत्वको प्रत्यक्ष सहभागिता देखिएको छ। यस्तो अवस्थामा “पत्रकारिता भनेको निष्पक्ष हुनु हो” भन्ने अवधारणा महासंघकै नेतृत्वदायी संस्थाबाट माटोमा मिलाइँदै छ।
गठबन्धनको खेल र निष्पक्षताको अवमूल्यन
नेपाल पत्रकार महासंघको यो महाधिवेशन पत्रकारहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने भन्दा पनि राजनीतिक दलहरूको शक्ति प्रदर्शन गर्ने मञ्च बन्दै गएको छ। नेपाली कांग्रेसनिकट प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीले आफ्नो साझा गठबन्धनमार्फत अध्यक्ष पदमा निर्मला शर्मालाई अघि सारेका छन्। यो गठबन्धनले, प्रदेश र जिल्लास्तरमा समेत भागबन्डा गरी, नेतृत्वमा आफ्नो पकड बलियो बनाउने एक मात्रै उद्देश्य देखिन्छ ।
मकवानपुरमा यसको एउटा ज्वलन्त उदाहरण देख्न सकिन्छ। प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनलाई सुदृढ पार्न मंसिर २६ गते नेकपा एमाले जिल्ला समिति र नेपाली कांग्रेस जिल्ला समितिका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै “गठबन्धन मजबुत गर्नुपर्ने” भन्दै प्रत्यक्ष आग्रह गरेका थिए। उक्त विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्नसमेत अपिल गरिएको थियो। यति मात्रै होइन, पत्रकार महासंघको निर्वाचनका लागि साझा प्रतिबद्धता पत्र लेख्दा कांग्रेस र एमालेका जिल्ला अध्यक्षहरूको नै उपस्थिति गराईयो ।
यसले स्पष्ट पार्छ कि राजनीतिक दलहरूले पत्रकार महासंघलाई आफ्नो स्वार्थको माध्यम बनाउन खोजिरहेका छन् र बनिरहेको पनि छ । पत्रकारिता संस्थाको आडमा दलगत एजेन्डालाई संस्थागत गर्न यसरी महासंघको स्वतन्त्रता र निष्पक्षता माथि गम्भीर प्रहार भएको छ।
नेपाल पत्रकार महासंघ विगतदेखि नै राजनीतिक दलहरूको चंगुलमा फस्दै आएको देखिन्छ। केही समय अघि महासंघमा सदस्यता विवाद हुँदा, विभिन्न दलका कार्यकर्ताहरूलाई सदस्य बनाउने प्रयासले महासंघको विश्वासनीयता कमजोर भएको थियो। त्यसैका कारण तत्कालीन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिनुपरेको घटनाले महासंघको कमजोर आन्तरिक व्यवस्थापन र दलीय प्रभावलाई उजागर गर्यो।
मकवानपुरमा देखिएको घटना मात्र होइन, केन्द्रदेखि नै दलगत हस्तक्षेपका घटनाहरूले महासंघलाई स्वतन्त्र मञ्चबाट राजनीतिक अखडामा परिवर्तन गरेको छ। यस पटकको महाधिवेशनमा पनि त्यस्तै विवाद दोहोरिने प्रबल सम्भावना छ। राजनीतिक दलहरूले महासंघलाई आफ्नो रणनीतिक साझेदारका रूपमा हेरेका कारण, स्वतन्त्र पत्रकारहरूको प्रतिनिधित्वलाई पछाडि पार्दै आफ्ना कार्यकर्तालाई अगाडि बढाउन खोजेका छन्। यो परिपाटीले महासंघलाई लोकतान्त्रिक मूल्यमान्यताका विरुद्ध लैजाने स्पष्ट देखिन्छ।
पत्रकार महासंघको मुख्य उद्देश्य भनेको पत्रकारहरूको हकअधिकारको रक्षा गर्नु, उनीहरूको पेसागत सम्मानको संरक्षण गर्नु, र समाजमा निष्पक्ष र स्वतन्त्र पत्रकारिताको अभ्यासलाई प्रोत्साहन गर्नु हो। तर अहिलेका गतिविधिहरूले महासंघ आफ्नो मूल उद्देश्यबाट गम्भीर रूपमा विचलित भएको देखाउँछ।
महासंघले पत्रकारहरूको पेशागत हकहितलाई केन्द्रमा राख्नुपर्नेमा, दलगत एजेन्डा पूरा गर्ने मञ्चका रूपमा परिचालित भइरहेको छ। यस्ता क्रियाकलापले स्वतन्त्र पत्रकारहरूको आत्मविश्वासलाई गहिरो धक्का दिएको छ।
स्वतन्त्रता खोसिँदै, विश्वास गुम्दै
महासंघले नेतृत्वका लागि योग्य र स्वतन्त्र पत्रकारहरूलाई अगाडि ल्याउनुपर्ने हो। तर यसको सट्टा, निष्क्रिय पत्रकारहरूलाई महासंघको नेतृत्वमा पुर्याउने कसरत गरिँदैछ। यस्तो अवस्थामा व्यवसायिक पत्रकारहरूले महासंघप्रति असन्तोष राख्नु स्वाभाविक हो।
महासंघलाई शुद्धीकरण गर्ने अभियान पनि प्रभावकारी हुन सकेको छैन। निष्पक्ष पत्रकारहरूको संस्थागत भूमिकालाई स्थापित गर्न महासंघले कुनै ठोस कदम नचाल्दा यसको विश्वासनीयता झन् झन् गुम्दै गएको छ।
महासंघले आगामी महाधिवेशनबाट के सन्देश दिन चाहन्छ भन्ने स्पष्ट छैन। यदि यस पटक पनि राजनीतिक भागबन्डालाई अगाडि बढाएर नेतृत्व चयन गरियो भने, महासंघको अस्तित्व संकटमा पर्ने मात्र होइन, नेपाली पत्रकारिताको भविष्यमा पनि गम्भीर असर पर्नसक्छ ।
पत्रकार महासंघको मूल उद्देश्य नै पत्रकारहरूको स्वतन्त्रता र निष्पक्षताको रक्षा गर्नु हो। यसलाई पुनर्स्थापित गर्न महासंघले राजनीतिक प्रभाव हटाउने दिशामा ठोस नीति र योजना अघि सार्नुपर्छ।
महासंघले आफ्नो नेतृत्वलाई पूर्ण रूपमा स्वतन्त्र बनाउने, दलीय हस्तक्षेपलाई अन्त्य गर्ने, र व्यवसायिक पत्रकारहरूको आवाजलाई प्राथमिकता दिने दिशामा अघि बढ्न सके मात्र यो संस्था आफ्नो वास्तविक उद्देश्यमा फर्किन सक्छ। अन्यथा, महासंघ राजनीतिक अखडामा सीमित रहनेछ, जसले केवल पत्रकारिताको मूल्य र मान्यतालाई कमजोर पार्नेछ।
यस महाधिवेशनले महासंघलाई दलगत स्वार्थको केन्द्र बनाउने कि पत्रकारिताको नेतृत्वकर्ता बनाउने भन्ने सवाललाई चिरफार गर्नेछ। यो निर्णयले नेपाली पत्रकारिताको दिशानिर्देशन मात्रै होइन, यसको अस्तित्वलाई समेत निर्धारण गर्नेछ।