काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो प्रयासमै राष्ट्रिय दलको रूपमा उदाउने सम्भावना छ । पुराना दलप्रति बढ्दो वितृष्णा र लामिछानेको लोकप्रियता नै रास्वपाका लागि इतिहास रच्ने अवसर बन्न सक्छ ।
प्रदेशसभा चुनाव बहिष्कार गरेको रास्वपाले प्रतिनिधिसभाको १ सय ६५ मध्ये १ सय ३१ सिटमा उम्मेदवारी दिएको छ । सबैभन्दा धेरै एमालेले १ सय ४१ र दोस्रोमा रहेको राप्रपाका १ सय ४० उम्मेदवार छन् ।
प्रत्यक्षमा ५ सिट ल्याउने रास्वपाको प्रक्षेपण छ । समानुपातिकमा भने उसले अप्रत्यासित मत पाउने अनुमान गरिएको छ । राजनीतिक पृष्ठभूमिबिनाको नेतृत्व र नयाँ दल भएकाले तथ्यमा रास्वपाले पाउन सक्ने मतको हिसाबकिताब निकाल्न मुस्किल छ । तर, चुनाव चिह्न घण्टीप्रति देखिएको आकर्षणले रास्वपाको संसद् यात्रालाई खासै कठिन देखाउँदैन । सुरुकै प्रयासमा राष्ट्रिय दलको हैसियत पाउनु रास्वपाका लागि ठूलो उपलब्धि हुनेछ ।
राष्ट्रिय दल बन्न प्रत्यक्षमा कम्तिमा १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनैपर्छ । अर्थात १ सय ३१ जना उम्मेदवारमध्ये रास्वपाले प्रत्यक्षमा एक सिट त जित्नैपर्छ । अनि देशभर खसेको कुल सदर मतको ३ प्रतिशत समानुपातिकमा मत ल्याउनुपर्छ । देशैभरि १ करोड मत खस्यो भने कम्तिमा तीन लाख मत समानुपातिकमा पाउनुपर्छ । दुवै थ्रेसहोल्ड पार गर्ने दलहरूले संसद्मा राष्ट्रिय दलको हैसियत प्राप्त गर्नेछन् । नभए चुनिएकाहरू पनि स्वतन्त्र सांसदका रूपमा बस्नुपर्ने हुन्छ । जस्तो कि, २०७४ मा राप्रपा नेपालले प्रत्यक्षमा १ सिट जिते पनि समानुपातिकमा तीन लाख मत पाउन नसकेपछि राष्ट्रिय दल बन्न सकेको थिएन ।
खासगरी ७ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले प्रमुख दलका उम्मेदवारको कानमा घण्टी बजाइरहेका छन् । चितवन- १, चितवन- २, काठमाडौं- २, काठमाडाैं ६, ललितपुर- ३, नुवाकोट- २ र बाँके- २ मा रास्वपाका उम्मेदवार मुख्य प्रतिस्पर्धी बन्न सक्ने अड्कल गरिएको छ । यीमध्ये पनि रास्वपालाई राष्ट्रिय दलको मान्यता दिलाउने सम्भावित क्षेत्र चितवन- २ लाई मानिएको छ । अन्य क्षेत्रमा रास्वपाका उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिन सक्छन् ।