Friday, December 6, 2024
राजनीतिओली-देउवा भेटवार्ता: सरकार गठनमा छलफल

ओली-देउवा भेटवार्ता: सरकार गठनमा छलफल

काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुधबार साँझ महत्वपूर्ण भेटवार्ता भएको छ। बुढानिलकण्ठस्थित देउवा निवासमा भएको यो बैठक दुई घण्टाभन्दा लामो चलेको थियो। बैठकमा मुख्यतः नयाँ सरकार गठन र सहकार्यका विषयमा छलफल भएको बताइएको छ।

बैठकमा एमालेबाट अध्यक्ष ओलीका साथै महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल उपस्थित थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक सहभागी थिए।

पहिले कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने कुरा भए पनि अब अन्य दललाई पनि समेट्ने गरी लचिलो हुने सहमति भएको स्रोतले जनाएको छ। जसपा नेपाल, जसपा, नाउपा, लोसपा लगायतका दलहरूले कांग्रेस-एमाले गठबन्धनमा सहभागी हुने इच्छा देखाएका छन्।

शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु हुने भएकाले दुवै दलमा मन्त्री बन्नेहरूको दौडधुप चलेको छ। एमालेले नयाँ र कार्यकुशल नेताहरूलाई प्राथमिकता दिने चर्चा छ भने कांग्रेसमा गुटबन्दीका कारण मन्त्री छनौट चुनौतीपूर्ण देखिएको छ।

यो बैठकले नयाँ सरकार गठनको प्रक्रियालाई तीव्रता दिने अपेक्षा गरिएको छ, तर मन्त्रालय बाँडफाँट र मन्त्री छनौटमा अझै केही चुनौती रहेको देखिन्छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img