देशबागमती प्रदेशकृषि मन्त्री श्रेष्ठले सार्वजनिक गरे एक वर्षे उपलब्धि

कृषि मन्त्री श्रेष्ठले सार्वजनिक गरे एक वर्षे उपलब्धि

हेटौँडा | बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्।

मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्दै मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख रुपैयाँ बजेटमध्ये ६७.२९ प्रतिशत खर्च गरेको जानकारी दिए। उनका अनुसार गत वर्ष प्रदेश कृषि विकाससम्बन्धी विधेयक पारित भई कार्यान्वयन सहज भएको छ भने किसानमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको छ।

मन्त्रालयले ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत ७० वडामा साझेदारी परियोजना सञ्चालन, ३३० किसानलाई प्राकृतिक विपद् राहत, १५ लाखभन्दा बढी भेडाबाख्रामा पिपिआर खोप अभियान, ७१ हजारभन्दा बढी गाईभैंसीमा लम्पी स्किन रोगविरुद्ध खोप, बायो–सेफ्टी लेभल–टु प्रयोगशाला स्थापनासहितका कार्यक्रम सम्पन्न गरेको छ।

यस्तै, हेटौँडामा दूध पाउडर प्लान्ट सञ्चालन तयारी, प्रादेशिक कृषि थोक बजार हस्तान्तरण, आधुनिक भेटेरिनरी अस्पताल निर्माण, २२ वटा ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’, बीउ भण्डारण गृह, करिब एक हजार हेक्टर क्षेत्रमा बीउ उत्पादन, सहुलियतपूर्ण कर्जा वितरण, मल व्यवस्थापन र उद्यमशीलता प्रवर्द्धन जस्ता कामलाई अघि बढाइएको छ।

मन्त्री श्रेष्ठले आगामी आव २०८२/८३ का लागि २७ प्रमुख कार्यक्रम अघि सारेका छन्। तीमध्ये कर्जा सुरक्षण कोषमार्फत लगानी प्रवर्द्धन (१० करोड), सहुलियतपूर्ण कर्जा (५ करोड), स्मार्ट कृषि फार्म, आधुनिक बधशाला, एक जिल्ला एक विशेष कृषि तथा पशुपन्छी पकेट क्षेत्र, दूधमा प्रत्यक्ष अनुदान (२० करोड), संक्रामक रोग नियन्त्रण खोप अभियान (६.९९ करोड), सूचना प्रविधिमा आधारित कृषि बजार केन्द्र (९ करोड) लगायतका योजना प्राथमिकतामा छन्।

उनका अनुसार किसानलाई राहत, प्राङ्गारिक मल प्रयोग विस्तार, उद्यमशीलता प्रवर्द्धन, फूल खेती, संरक्षित तरकारी खेती, केरा खेती प्रोत्साहन र खाद्यान्नबाली प्रवर्द्धनलाई समेत यस वर्ष विशेष प्राथमिकता दिइनेछ।

‘मन्त्रालयको उद्देश्य किसानलाई राहत दिने, आत्मनिर्भरता बढाउने र उत्पादनलाई बजारसम्म जोड्ने हो,’ मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा बताए। उनले आगामी वर्षका कार्यक्रमले प्रदेशमा कृषि आत्मनिर्भरता, कृषक उद्यमशीलता र निर्यात प्रवर्द्धनमा सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img