हेटौँडा | नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापा भदौँ २४ गते मंगलबार हेटौँडा आउने भएका छन्।
विपी जयन्ती दिवसको अवसरमा प्रदेशसभा क्षेत्र नं. १ (ख) समितिले आयोजना गर्ने वृहत् कार्यकर्ता भेलामा उनी प्रमुख अतिथि रहनेछन्। हेटौँडा–२ स्थितहिमालयन दरबार पार्टी प्यालेसको सभाहलमा हुने कार्यक्रममा करिब २०० देखि ३०० जनासम्मको सहभागिता हुने अपेक्षा गरिएको छ।
कार्यक्रम तयारीबारे जानकारी दिन शनिवार पत्रकार सम्मेलन गरिएको थियो। उपमेयर राजेश बानियाँको सभाध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा करिब ४० जना सहभागी थिए। बानियाँले भेलालाई सफल बनाउन आवश्यक तयारी पूरा गरिएको बताए।
स्थानीय मुद्दा, संगठन विस्तार र कार्यकर्ताबीचको एकतालाई बलियो बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको कांग्रेस मकवानपुरले जनाएको छ। थापाको उपस्थितिले मकवानपुर कांग्रेसलाई उत्साहित बनाउने र आगामी गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ।



