बेनी | म्याग्दी जिल्लाका विभिन्न तातोपानी कुण्डहरु स्वास्थ्य पर्यटन केन्द्रको रुपमा उदाउँदै गएका छन्। जिल्लाभरी फैलिएका १४ वटा तातोपानी कुण्डहरु बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएका छन्।
बेनी नगरपालिका-४ स्थित सिङ्गा तातोपानी कुण्ड विशेषगरी चर्चित छ। यो कुण्ड वि.सं. २०४२ साल देखि नै प्राकृतिक चिकित्सालयको रुपमा स्थापित छ। विरेनुनको सुगन्ध र पिउन मिल्ने प्राकृतिक तातोपानीमा डुबेर धेरै बिरामीहरुले स्वास्थ्य लाभ हासिल गरेका छन्।
तातोपानी कुण्डमा डुबेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हाडजोर्नी दुखाई, नसा च्यापिएको लगायतका चिसोका कारण उत्पन्न सबै प्रकारका रोगहरु निको हुने कुण्ड व्यवस्थापन समिति साथै त्याहा आएका बिरामीहरू बताउछन ।
पछिल्लो समय तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी बिरामीहरुको आगमन बढ्दै गएको छ। कुण्ड व्यवस्थापन समितिका अनुसार भारत, जापान र बङ्गलादेशबाट पनि सयौं पर्यटक यहाँ आउने गरेका छन्। ५५ देखी ५७ डिग्री सेन्टिग्रेडको तापक्रममा विरेनुन मिसिएको यो प्राकृतिक तातोपानीले अनेकौं रोगीहरुलाई निकै राहत प्रदान गरेको छ।
नेपालका विभिन्न जिल्लाका साथै उच्च सरकारी अधिकारी तथा केन्द्रीयस्तरका नेताहरुले पनि यो कुण्ड अवलोकन गर्न आउने गरेका छन्। महङ्गा अस्पतालमा उपचार नभएका बिरामीहरु यहाँ आउने क्रम बढेपछि स्थानीय स्वास्थ्य पर्यटन केन्द्रको रुपमा विकास भैरहेको छ।
४२ सालमा फेला परेको यो तातोपानी कुण्डलाई स्थानीयवासिन्दाले नै संरक्षण गरी अहिलेको अवस्थामा पुर्याएका हुन्।