काठमाडौं | सोमबार देशका पूर्वी र मध्य भागहरूमा मौसम बदली रहनेछ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसबाहेक, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ। तराईका क्षेत्रमा बादल लागे पनि पानी पर्ने सम्भावना न्यून छ।
यसैबीच, काठमाडौं उपत्यकामा पनि आंशिकदेखि साधारणतया बदली रहनेछ। तापक्रममा सामान्य गिरावट आउन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।