फिचरकस्ता अभिभाबक जिम्मेवार अभिभावक हुन् ?

कस्ता अभिभाबक जिम्मेवार अभिभावक हुन् ?

काठमाडौं: प्रकृतिद्धारा जिवित प्राणीहरुमा दिएको सबैभन्दा ठुलो जिम्मेवारी अभिभावकत्व हो । यसैलाई सहज बनाउन प्रकृतिले सबै कलिला र कोपिलाहरुलाई सुन्दर बनाएको हुन्छ । शैशवकालमा हरेक प्राणीहरु सुन्दर एवं प्यारा हुन्छन् । कुखुराका चल्ला, बाख्राका पाठा पाठी, गाईका बाच्छा बाच्छी, आदि इत्यादी सबै ।

सायद हेर्दै असिम वात्सल्य तथा अभिभावकत्व प्राप्त गरुन भनेर प्रकृतिले यि शैशवहरुलाई प्यारा बनाएको हुनुपर्छ । यो नियम सर्वश्रेष्ठ र विवेकशिल प्राणी मानवमा पनि लागुहुन्छ । हामी पनि हाम्रा बच्चाहरुलाई निकै माया गर्छौं । कल्पनामा समेत हामी हाम्रा कलिला बच्चाहरुलाई असिमित माया गर्छौं । मुटु नै चुंडेर दिउ जस्तो । तर …. माफ गर्नुहोला तपाईहरुको अभिभावकत्वको असिमित प्रेममा प्रश्न गर्न खोजेका होइन ।

बच्चा हुर्काउन कत्ति गाह्रो हुन्छ । किन गाह्रो भएको होला ? यसरी मुटुनै चुंडाए पनि दिन तयार अभिभावकहरुले यत्ति गाह्रो गरि र्हुकाएका ति त्यस्ता प्यारा बच्चाहरुले हुर्कियर परिपक्व हुन नपाउदै संसारभरका यत्ति धेरै दुख किन पाएका होलान् ?

प्लेटो लेख्छन, “Let Parents bequeath to their children not riches, but the spirit of reverence”. अर्थात अभिभावकहरुले आफ्ना सन्तानलाई धनसंपत्ति मात्र नछोडुन, अरुको पिडा र संवेदना महसुस गर्न सक्ने एउटा सुन्दर मन पनि दिएर जाउन ।

सामान्य मानिसका अभिभावकहरुले हामीलाई केहि धनसंपत्ति त छोडे तर अरुको पिडा महसुस गर्न सक्ने सुन्दर मन दिन सकेनन् । प्लेटो एक महान चिन्तक हुन् । उनी जान्दथे, सुन्दर मनहरुको अभावमा यो संसार निर्दयी र स्वार्थी बन्नेछ जंहा भावना, संवदेना र अरुको पिडा महसुस गर्नेहरुलाई कमजोर भनिनेछ । हामी यि सबै महसुस गर्दछौं । तर जीन्दगीको दौडमा हामी यि भावनात्मक पक्षहरुलाई विर्सदै छौं ।

राम्रो र जिम्मेवार अभिभावक बनेर आफ्ना सन्तानको भविष्य सुनिश्चत गर्न सबैभन्दा पहिला त अभिभावक बन्न तयार हुनु पर्दछ । संसारमा कसैलाई जन्म दिएर दुख दिनु भन्दा जन्म दिनु अघिनै आवश्यक तयारी गर्नु महत्वपुर्ण हुन्छ । त्यसका लागि विवाह र सन्तान उत्पादन भनेको एउटा अत्यन्तै महत्वपुर्ण जिम्मेवारी हो भनेर बुझ्न आवश्यक छ । हामी मध्ये कोही पनि यो पक्कै चहादैनौ कि जन्म लिएर हाम्रा सन्तानहरुले दुख पाउन् । आर्थिक, सामाजिक र मानसिक रुपमा सबल भएपछि मात्र सन्तानको रहर गर्नुपर्दछ । तपाईका आफ्ना जिवन पनि महत्वपुर्ण हुन्छन् । आफुले बहन गर्न नसक्ने जिम्मेवारी लिंदा तपाईको आफ्नो जिवन पनि अनावश्यक बोझ र पिडामा दब्न सक्छ । आफ्नै जिवन तनावपुर्ण हुंदा कुनै अर्को जिवन वा भनौं समाजका विषयमा सोच्न सकिदैन । तसर्थ आफु तथा आफ्ना सन्तानहरुको सुन्दर संसारका लागि विवाह तथा अभिभावक बन्ने जस्तो अत्यन्तै महत्वपुर्ण विषयमा धेरै चिन्तन र तयारी गर्न आवश्यक छ । तयरी पश्चात मात्र अभिभावक बन्नु पर्दछ । जिम्मेवार अभिभावक बन्ने तयारी गरिसकेपछि आफ्ना बालबालिकाहरुलाई अनुशासित, सभ्य र असल नागरिक बनाउन अभिभावकहरुले ध्यान दिनुपर्ने कुराहरु :

सबैभन्दा पहिला जिम्मेवार अभिभावक बन्न निन्मलिखत गुणहरु आवश्यक पर्दछन् :

विवाहका लागि उपयुक्त समयको चयन र त्यसैगरी पुर्ण तयारीका साथ मात्र आफ्नो परिवारको शुरुवातका लागि सोच्नुपर्दछ । तयारीमा सामाजीक तथा आर्थिक सक्षमता लगायतका विषयहरु पर्दछन् । जिम्मेवार अभिभावक बन्न श्रीमान श्रीमती दुवैले उपयुक्त समयको छनोट गर्नुपर्दछ । सन्तानहरु बिच उपयुक्त जन्मान्तर सुनिश्चित गर्नुपर्दछ । सन्तान भनेका आर्थिक जीम्मेवारी पनि हुन् तसर्थ जन्म अघि आफ्नो आर्थिक अवस्था सुनिश्ति गर्नुपर्दछ ।

त्यसैगरी जिम्मेवार अभिभावकका निम्नलिखित सिद्धान्तहरु महत्वपुर्ण हुने गर्दछन् :

  • तपाईका आचरण र व्यवहार निकै महत्वपुर्ण हुने गर्दछन् :
    बलबालिकाहरुले आफ्ना अभिभावकरुलाई निकै ध्यानले नियालीरहेका हुन्छन्, बालबालिकाहरुले आफ्ना अभिभावकहरुकै नक्कल गर्ने हुंदा तपाई आफ्ना बालबालिकाहरुलाई जस्तो देख्न चहानुहुन्छ त्यस्तै व्यवहार गर्नुहोस् ।
  • बालबालिकाहरुलाई माया गर्नुपर्छ तर धेरै पुल्पुल्याउनु हुंदैन :
    हामी सबै आफ्ना बालबालिकाहरुलाई असाध्यै धेरै माया गर्छौ तर मायाले उनीहरुलाई विगार्नु हुंदैन । गलत गरेमा बुझाएर सम्झाउनु पर्छ तर गाली गर्ने पिट्ने चांहि पटक्कै गर्नु हुंदैन ।
  • आफ्ना बालबालिकाहरुको क्रियाकलापमा भाग लिनुपर्दछ :
    हेरचाह गर्ने, खाना खुवाउने तथा माया गर्ने मात्र पर्याप्त हुंदैन, उनीहरुको क्रियाकलापमा उनीहरु जस्तै भई भाग लिंदा उनीहरुको मानसिक तथा शारिरीक विकासमा निकै सकारात्मक प्रभाव पर्दछ । जस्तोसुकै व्यस्त समयमा दिनको केहि समय उनीहरुसंग खेल्नु एकदमै जरुरी हुन्छ । खेल्दा सम्पुर्ण ध्यान उनीहरुमै सिमित हुनुपर्दछ ।
  • अभिभावकत्वलाई आफ्ना बालबालिकाको उमेर अनुसार परिवर्तन गर्दै लानुपर्दछ :
    बालबालिकामा उमेर अनुसार हुने शारिरीक तथा मानसिक विकास अनुसार अभिभावकहरुले आफ्नो व्यवहरामा परिवर्तन गर्दै लानुपर्दछ ।

असल अभिभावकको कर्तव्यः
बच्चालाई कस्तो वातावरणमा हुर्काउने, उसलाई सरसफाइप्रति राम्रोसँग ध्यान दिने, उसको शिक्षादीक्षामा कस्तो वातावरण बनाइदिने, कस्तो वातावरण बनाइदिँदा उनीहरुलाई शिक्षामा रुचि बढाइदिन सकिन्छ, आफ्नो बच्चा साथीसंगीसँग कत्तिको घुलमिल गर्छ यावत् साना–मसिना कुरामा राम्रोसँग ध्यान दिनुहोस् । बच्चालाई सधैँ सफा राख्नुपर्छ, यसो गर्दा अरु साथीको दृष्टिमा आफ्नो बच्चा पर्न सकोस्, सफासुग्घर बच्चालाई सबैले माया गर्छन् । बच्चा स्कुल जाने भइसकेपछि स्कुलको डे«स जुत्ता मोजा सफा राखिदिनुहोस् जबकि स्कुलमा यो कस्तो सफा छ भनेर शिक्षकशिक्षिकाले तारिफ गरून् ।

बच्चाले गरेको राम्रो काममा सधैं उसलाई धन्यवाद दिने गर्नुहोस् अनि उसलाई राम्रो काम गर्न जाँगर बढेर आउँछ । बच्चाले राम्रो काम गरे पनि केही क्रिया–प्रतिक्रिया नदिने अनि कहिलेकाहीँ नराम्रो काम गरिहाल्यो भने बेस्सरी गाली गर्ने काम नगर्नुहोस्, उसलाई राम्रोसँग सम्झाई–बुझाई नराम्रो काम कहिल्यै गर्नुहुन्न भनेर भन्नुहोस् । राम्रो कामका लागि उसलाई तारिफ गर्न नबिर्सनुहोस् । स्कुलमा आफ्नो बच्चा साथीभाइसँग घुलमिल गरेको छ कि छैन, पढाइमा कत्तिको ध्यान दिएको छ त्यो कुरा बेला–बेलामा विद्यालयमा गएर शिक्षक–शिक्षिकासँग मेरो बच्चाले कस्तो गर्दैछ, उसलाई राम्रोसँग ख्याल गरिदिनुहोला भनेर भन्नुहोस् । आफ्नो बच्चालाई साथीभाइको बीचमा हीनताबोध हुने खालका काम नगराउनुहोस् । हाम्रो जमानामा यस्तो थियो उस्तो थियो भनी यस्तो गर्नुपर्छ, उस्तो लगाउनुपर्छ भनेर बच्चालाई नभन्नुहोस् । युग सुहाउँदो, ठाउँ सुहाउँदो र परिवेश सुहाउँदो ड्रेस अपमा राख्नुहोस् । बिहान स्कुल जान कहिल्यै ढिला नगरिदिनोस् । ढिला गर्दा स्कुलमा सानातिना कुरा छुट्न सक्छन् र बाटोमा पनि हतार–हतार हुन्छ । त्यसो गर्दा गाडी हिँड्ने बाटामा सुरक्षाको पनि डर हुन्छ ।

अहिलेका बच्चाले सबै खानेकुरा नरम खालको खान्छन्, त्यसैकारण धेरैजसो बच्चामा दाँतको समस्या देखिने गरेको छ । यसको समाधानका लागि उनीहरुलाई साह्रो किसिमको खानेकुरा पनि बेलाबेलामा खान दिनुहोस् । बिहानबेलुका खानापछि ब्रस गरिएन भने पेटसम्बन्धी रोग लाग्ने सम्भावना अत्यधिक हुने हुनाले बिहानबेलुका ब्रस गर्न लगाउनुहोस् । हिजोआजका बच्चाले धेरै टिभी हेर्ने भएकाले उनीहरु धेरैको आँखामा पनि समस्या आउने गरेको छ । यसको समाधानका लागि उनीहरुलाई कसरी टिभी हेर्ने बानी कम गराउन सकिन्छ भन्नेमा सोच्नुहोस् । बच्चा बिग्रने भनेको किशोरावस्थामा हो त्यस समयमा उनीहरुको मनोभावनालाई बुझेर कसरी राम्रो बाटोमा ल्याउन सकिन्छ भन्नेमा दत्तचित्त भएर लाग्नुहोस् ।

जिम्मेवार अभिभावकहरुले आफ्ना छोरा/छोरीहरुलाई आत्मनियन्त्रण, अनुशासनको महत्व बुझाउने तथा त्यसलाई व्यवहारमा लागु गर्न प्रोत्साहन गनुपर्दछ । छोरा/छोरीहरुलाई आफ्ना निर्णय तथा कदमहरुका लागि जिम्मेवार बन्न सिकाउनुपर्दछ । उनीहरुका हरेक छनोटलाई नियन्त्रण गर्ने र उनीहरुलाई किचकिच गरिरहने गर्नु हुंदैन, यसले उनीहरुको मनोबलमा नकारात्मक असर गर्दछ, जसले उनीहरुको आत्मविश्वासमा कमि आउंछ ।

संसारको स्वरुप हाम्रै सोच र हाम्रै अभिभावकत्वमा निर्भर गर्दछ । के तपाई चहानुहुन्छ, तपाईका बालबालिकाहरु हामी जस्तै जीन्दगीको दौडका कारण भावना र संवेदना हिन बनुन भनेर ? के यि कलिला, यति खुशी र हंसिला अनुहारहरु जीवनको भोगाई संगै कठोर बन्दै जाउन ? हामी आफैं पनि फेरि बालबालिका जस्तै हुन पाउने कल्पनाहरुमा हराईरहेका हुन्छौ, किन ? हामी ति संपुर्ण खुशी, संवेदनाहरु महसुस गर्न चहान्छौं । तपाई यदि आफ्ना बालबालिकाहरुलाई राम्रो जीवन दिन चहानुहुन्छ भने राम्रो अभिभावक बन्न केहि जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्नुपर्दछ । राम्रो अभिभावक बन्नु भनेको तपाईका आफ्ना बालबालिकाका लागि तपाईले राम्रो संसार बनाउनु हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img