फिचररामेछाप बस दुर्घटनाको कारण ‘ब्रेक फेल’, १३ यात्रुको ज्यान गयो, फाल हानेर...

रामेछाप बस दुर्घटनाको कारण ‘ब्रेक फेल’, १३ यात्रुको ज्यान गयो, फाल हानेर जोगिएका थिए चालक

spot_img

काठमाडौँ । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए ।

रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासी भिरमा खसेर तल्लो सडकमा बजारिँदा १३ यात्रुको ज्यान गयो । प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाको कारण बसको अवस्था ठिक नहुनु नै रहेको खुलेको छ ।

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।

दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भए पनि सुनापाती–५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । हिँडेको केही घण्टापछि (करिब १० किमी गुडेपछि) बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए ।

उनका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको स्थलबाट मध्य पहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो । त्यसपछि केही राम्रो सडक थियो । त्यहाँबाट केही किलोमिटरको दूरीमा बिपी राजमार्ग (पक्की सडक) भेटिने पनि उनले बताए ।

यो समाचार तयार पार्दासम्म दुर्घटनामा परी घाइते भएकामध्ये थप ४ को मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २२ जना घाइते छन् ।

सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उपचार जारी छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालकसहित ३५ जना रहेका थिए ।

उनीहरूमध्ये चालक भने गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका कारण ठूलो घाइते हुनबाट जोगिएका छन् । उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

स्थानीयवासीले गाडीको ब्रेक फेल भएर दुर्घटना भएको दाबी गरेका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले पनि गाडीको इन्जिन खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

घाइतेको नामावली
दुर्घटनामा रामेछाप जिल्ला सुनापती गाउँपालिका–५ बस्ने वर्ष ४५ का लालसिङ तामाङको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै वर्ष ५८ का मानबहादुर तामाङको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ भने सोही ठाउँ बस्ने वर्ष ३४ का आशिष् तामाङको मुख र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने वर्ष ४५ का जुना मगर, वर्ष ४५ का रामबहादुर श्रेष्ठ, वर्ष ३५ की शोभा श्रेष्ठ, वर्ष ५८ का गोमा खड्का, वर्ष २४ का बुद्ध तामाङ, वर्ष ६२ की अमिका खड्का, वर्ष ४५ की कान्छीमाया तामाङ, वर्ष २४ का गङ्गा घले, वर्ष ५६ का बुद्धिलाल श्रेष्ठ, वर्ष ७ का बुद्ध विक, वर्ष ५५ का चन्द्र श्रेष्ठ, वर्ष ८० का ठूलोसिंह तामाङ, वर्ष १६ की सरस्वती खाती, वर्ष ४० की डम्बरकुमारी खाती, वर्ष ४९ की कान्छीमाया तामाङ र वर्ष २३ की सविना घिसिङ पनि घाइते भएका छन् ।

यस्तै सर्लाही जिल्ला लालबन्दी ४ बस्ने वर्ष ३८ को अमर चौधरीको भने हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बनेपास्थित शिर मेमिरियल अस्पतालमा उपचारपछि सुनापती–५ बस्ने वर्ष १९ का सहचालक विष्णुराम खड्काको भने दाहिने हात र खुट्टामा चोट लागेकोमा उपचारपश्चात् घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img