समाजसप्तकोसी नदीको बाढी बस्तीमा पस्दा खतरा

सप्तकोसी नदीको बाढी बस्तीमा पस्दा खतरा

इटहरी । बुधबार बिहान सप्तकोसी नदीले चतरा पुल नजिकै पर्ने बेलका नगरपालिका ८ डुम्रेबोटे (जिरो प्वाइन्ट) बाट बस्तीमा बाढी पस्यो ।

उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायत बस्तीमा बाढी पस्दा यहाँका दुई हजार भन्दा बढी परिवार बिस्थापित भएका छन् । बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार लगातारको वर्षातका कारण कोसी नदीमा बाढी बढेकाले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो ।

बाढीमा फसेकाहरूलाई सुरक्षित स्थानमा सार्न स्थानीय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको शक्ति परिचालन भइरहेको बताइएको छ । बाढीमा फसेका स्थानीयलाई उद्धार गरेर ल्याइएकाहरूलाई सुरक्षित स्थानमा रहेका विद्यालय, विभिन्न संघसंस्थाका भवन तथा खाली चौरमा लगेर राखिएको बताइएको छ ।

सुनसरी, उदयपुर र सप्तरीलाई छोएर बग्ने सप्तकोसीमा आएको बाढीका कारण वर्षेनी यहाँका बासिन्दा पिरोलिन्छन् । सुनसरी क्षेत्र नं. ४ सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्र हो । बराहक्षेत्र ६ र ९ नम्बर वडा उनै कार्कीको निर्वाचन क्षेत्र भएपनि यहाँका बासिन्दा वर्षेनी बाढीको पिरलोमा छन् । यस्तै, उदयपुर पनि मन्त्रीकै गृहजिल्ला पर्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको गृहजिल्ला परेपनि यहाँको समस्या समाधानमा खड्काले चासो नै नदिने स्थानीय बताउँछन् ।

कांग्रेसको केन्द्रीय राजनीतिमा राम्रै दखल राख्ने नेताका रूपमा परिचीत रहेका डा. खड्का २०६४, २०७० र २०७४ सालमा उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निरन्तर चुनाव जित्दै आएका छन् । आफ्नो गृह जिल्लामा पर्ने सप्तकोसी नदीको कटान समाधानमा ध्यान नदिँदा मन्त्री खड्का आलोचित बन्ने गरेका छन् ।

स्थानीयका अनुसार २०४५ सालदेखि कोसी पूर्वतिरबाट बग्न थालेपछि पश्चिमतर्फ बस्ती बसेको थियो । तर, बुधबार कोसी नदीले कटान गरेर पश्चिमतर्फ बग्न थालेपछि स्थानीयबासिन्दामा खतरा भएको हो । बराहक्षेत्र नगरपालिका वडा नं. ६ का सन्तोष चौलागाईँले मन्त्री, नेताहरू निरीक्षणमै रमाउने गरेको बताउँछन् । ‘नेताहरूले अनुगमन र निरीक्षण गर्नेबाहेक उच्चस्तरीय स्रोतबाट स्थायी समाधानका निम्ति कुनै पहल भएको छ जस्तो लाग्दैन,’ उनले भने, ‘बाढी नियन्त्रणका लागि बोरोसोरा हाल्ने भन्दा पर्तिरको काम भएको देखिदैँन, बोरा हाल्नेलाई यतातिर त्रिखुट्टी भन्छन् ।’

उनले सप्तकोसी समस्याको स्थायी समाधानका निम्ति स्थानीय, प्रदेश र केन्द्र सरकारले समन्वय गरेर तत्काल काम नगर्ने हो भने ०६५ को जस्तो समस्या फेरि दोहोरिने समेत उदृत गरे ।

जलाधार तथा बाढीपहिरो विशेषज्ञ मधूकर उपाध्याय भन्छन्, ‘सप्तकोसी ठूलो नदी हो, सबैभन्दा बढी बालुवा ल्याउँछ । बालुवा ओसार्ने नदी भएकाले पनि दायाँबायाँ काट्न थाल्छ ।’

हरेक वर्ष कोसी पश्चिमतर्फ हुँदै बग्ने गरेको अध्ययनहरूले देखाएको उनको तर्क छ । ‘कोसी नदीको स्थायी समाधान चैँ अलिक गाह्रो छ, निकै लामो दूरीमा तटबन्धन बाँध्नुपर्ने हुँदा खर्च निकै आउने हुनाले यसको स्थायी समाधान नभएको हो,’ उनले थपे, ‘बालुवा बगाएर ल्याएको ल्याई गर्दा नदीले जुनसुकै बेला पनि दायाँबायाँ काट्न सक्छ, तर केही वर्ष लगाएर समाधान गर्न सकिन्छ ।’

सप्तकोसीले कटान गरेको दुवै मन्त्री जानकार छन् । चुनावताका कोसी समस्याको समाधान गर्ने भन्दै यहाँका सर्वसाधारणलाई आश्वासन दिएर सोही मुद्धाका कारण चुनाव जितेका उनीहरूले जितेर गइसकेपछि सप्तकोसी समस्याको समाधान गर्नेतर्फ कदम चाल्नुको त परको कुरा, संसदमा आवाज समेत उठाएका छैनन् ।

तपाइको प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img