काठमाडौं – वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई सरकारले सम्मान गरेको छ । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० जना उद्यमीलाई पुरस्कारसहित सम्मान गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट बाराका सरोज कोइराला सम्मानित भएका छन् । वैदेशिक रोजगारीमा लामो समय यूएईमा बिताएर अहिले निजगढमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र सञ्चालन गर्दै आएका कोइराला एक लाख ५० हजार नगदसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका हुन् ।
यस्तै उद्यमी राष्ट्रिय पुरस्कारबाट ९ जना सम्मानित भएका छन् । यसरी सम्मानित हुनेमा एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालीका सञ्चालक म्याग्दीका महिन्द्र बानियाँ, छिन्गु मल्टी पर्पोज प्रालीका सञ्चालक रुपन्देहीका सुवर्ण पोखरेल र एम.एस. कृषि तथा पशुपालन फर्मका सञ्चालक महोत्तरीका मनोज राई छन् । यस्तै रसिलो एग्रिकल्चर नेपाल प्रालीका सञ्चालक मनोज ढकाल, नीलराज फुयाल र जितेन्द्र बानियाँलाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गरिएको छ । यस्तै किराँत एग्रिकल्चर एण्ड लाइभ स्टक फर्मका सञ्चालक सुनसरीका नवीनकुमार राई, कन्सुलर एक्सन प्लान अफ रेस्पोन्सिबल डेभलपमेन्ट सोसाइटी प्रालीका सञ्चालक नवलपरासीका मोहनबहादुर कार्की र बेदकोट बेस्लरी उद्योगका सञ्चालक कञ्चनपुरका धनबहादुर धानुक यो सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन् ।
वि.स. २०७६ सालदेखि यो पुरस्कार प्रदान गरिँदै आएको छ । मन्त्रालयले यो पुरस्कारको लागि आवेदन माग गर्छ । मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्ने उद्यमीहरु यस पुरस्कारबाट सम्मानित हुन्छन् । यो पुरस्कारको लागि कामदार भिसामा विदेश गएर कम्तीमा एक वर्ष काम गरेर फकिएको हुनुपर्छ । वैदेशिक रोजगारीबाट फर्किर नेपालमा व्यवसाय सञ्चालन गरेको पनि कम्तीमा एक वर्ष पूरा भइसकेको हुनुपर्छ ।



