साहित्यशिखरिणीमा सुन्द चुली - देवीप्रसाद मिश्र

शिखरिणीमा सुन्द चुली – देवीप्रसाद मिश्र

नदी खाेल्सी राम्रा वनचउर वा साथ छहरा
कहीँ पाखा भित्ता,समथल गरा झन् मनहरा
कुँदे जस्तै हेर्दा अघि प्रकृतिले एक तसली
खुलेका छन् राम्रा मनमुटु छुने सुन्दर चुली।।१।।

हिमाली डाँडामा सरसर चलेकाे छ पवन
उदाएका त्यस्तै रविकिरणले तान्दछ मन
झुलेका पाखामा कुसुम लतिका कञ्चन कली
खुलेका छन् हाम्रा मनमुटु छुने सुन्दर चुली।।२।।

कहीँ द्याैराली छन् अझ पर कतै,शङ्कर गुफा
कहीँ चाैतारी छन् वरपिपलले साेभन सफा
रमाई नाच्दै छन् चिरबिर चरी प्रेम बटुली
खुलेका छन् हाम्रा मनमुटु छुने सुन्दर चुली।।३।।

कहीँ पाटी पाैवा भवन अघिका देवल ठुला।
कुवा धारा राम्रा कल कल अझै कञ्चन कुला।।
रमेका खेतीमा कृषकजन छन् क्रन्दन भुली।
खुलेका छन् हाम्रा मनमुटु छुने सुन्दर चुली।।४।।

झुलेका डालीमा भ्रमर रस तान्दै वन भरी
मीठा गाना भर्दै युवक युवती झन् मनभरी
बुढा पाका साट्छन् हृदयबिचका भाव नभुली
खुलेका छन् हाम्रा मनमुटु छुने सुन्दर चुली।।५।।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img