शिक्षानब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन

नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन

तुलसीपुर| पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जान्छन। कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।

उनले पनातिसमेत देखिसक्नुभएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उहाँले कक्षा १ को पढाइ सुरु गरेका हुन् । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उहाँ पढ्न थालेका छन् । उनि पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन। “सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उनले भने, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।”

घरमा पनि उहाँ नातिहरूसँग बस्दै आएका छन् । उनको श्रीमतीको विसं २०३२ मा निधन भयो । त्यसपछि उहाँ एकलरूपमा घरमा बस्दै आएका थिए । उनका जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन् । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ । उनले आफू बाँच्दासम्म पढिरहने बताए । “सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उनले भने, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”

उनि पढ्नमा पनि त्यति कमजोर छैनन्। कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए । “परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ”, उनले भने, “त्यो पुस्तिकाअनुसार उनले लेख्न सक्छन।” अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसँग पढ्न सकेको बताए ।

उनिजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए । “उहाँ सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ”, उनले भने, “अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।”

विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए । उहाँ विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताए । यो समाचार प्रेस दर्पणमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img