हेटौंडा – हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताको प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरको दुई दिने सम्मेलनको आयोजना हुने भएको छ।
हेटौंडा स्कूल अफ म्यानेजमेन्टको मुख्य आयोजनामा आगामी फागुन ५ र ६ गते उक्त सम्मेलन आयोजना हुन लागेको हो। विभिन्न संघसंस्थाको साझेदारीमा आयोजना हुन लागेको सो सम्मेलनमा विदेशी तथा नेपाली वक्ताहरूको उपस्थिति रहनेछ।
सम्मेलनको उद्देश्य नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएका छन्। यसका लागि विभिन्न देशबाट आउने विज्ञहरूले आफ्ना अनुभव साटासाट गर्नेछन्।
आयोजकका अनुसार सम्मेलनमा ४ जना अन्तर्राष्ट्रिय वक्ता, १० जना राष्ट्रिय वक्ता र २ जना विशिष्ट वक्ता सहभागी हुनेछन्। यसैगरी, नेपाली उद्यमीहरूको पनि उपस्थिति रहनेछ।
सम्मेलनका विषयवस्तुमा नवप्रवर्तन र उद्यमशीलता विकासका लागि आवश्यक ज्ञान, सीप र पूर्वाधारका बारेमा छलफल हुनेछ। मानव संसाधन क्षमता अभिवृद्धि, अन्तर क्षेत्रीय सहयोग र समन्वय जस्ता विषयमा पनि ध्यान केन्द्रित हुने जनाईएको छ ।
यस्तै, सम्मेलनले उद्यमीहरूका लागि नेटवर्किङको अवसर सिर्जना गर्नेछ भने वित्तीय संस्थाहरूको भूमिकाबारे पनि चर्चा हुनेछ। उद्यमशीलता विकासका नीतिगत पक्षमा सरकारी निकायहरूसँग सुझाव आदानप्रदान हुने अपेक्षा गरिएको छ।
सम्मेलनमा भाग लिन इच्छुकहरूले शुल्क तिरेर आवेदन दिन सक्नेछन्। व्यवसायीहरूका लागि खाना सहितको शुल्क ३ हजार र विद्यार्थीहरूका लागि २ हजार रुपैयाँ तोकिएको छ। आवास र खाना सहितको शुल्क क्रमशः ५ हजार र ४ हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएका छन्।
यसरी हेटौंडामा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको उद्यमशीलता क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।



