भोजपुर – भोजपुरमा भएको हत्याको घटनामा संलग्न २ जना अभियुक्तलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका ४ (साविकको नागी गाविस १०) का ५४ वर्षीय प्रश्नजंग राई र ५८ वर्षीय सौरज भनिने सौराज राई रहेका छन्। भोजपुर प्रहरीका प्रमुख डीएसपी सुदीपराज पाठकका अनुसार विशेष सूचनाका आधारमा दुवै जनालाई सोमबार राति पक्राउ गरिएको हो।
भोजपुरको टेम्केमैयुङ ४ का भीमबहादुर राईको घरमा बस्दै आएका ४० वर्षीय भक्तबहादुर राईको २०५९ माघ २४ गते राति हत्या भएको थियो। काठको चिर्पट र घरेलु हतियार प्रहार गरेर भक्तबहादुरको हत्या गरेको प्रहरीको भनाइ छ। घटनामा संलग्नहरू हालसम्म फरार थिए । प्रश्नजंगलाई भोजपुर नगरपालिका ७ र सौराजलाई टेम्केमैयुङ ४ बाट पक्राउ गरिएको जानकारी उनले बताए ।
पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको डीएसपी पाठकले बताए ।



