मोरङ- मोरङको सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–४ मा तत्काल पहिचान नखुलेको सवारीसाधनले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
तत्काल नम्बर प्लेट नखुलेको सवारीसाधनले मोरङको बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको को २० प २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा ७ का ४५ वर्षीय खुलानाथ दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा १० का ४० वर्षीय सुन्दर बुढाथोकी घाइते भएका छन् । उनको नोबेलमै उपचार भइरहेको छ । दुर्घटना लगत्तै फरार बनेका कारण ठक्कर दिने सवारीसाधनको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।