हेटौंडा | हेटौंडामा एक सहकारी संस्थाद्वारा विदेशमा रहेका व्यक्तिको नाममा अनधिकृतरुपमा ऋण निकालिएको भेटिएको छ ।
हेटौंडा–७, नागस्वतीकी चमेली घोरासैनीले सिर्जना बचत तथा ऋण सहकारी संस्थाले आफ्ना पति नारायण सापकोटाको नाममा अवैधरुपमा ऋण निकालेको दाबी गरेकी छन् । उनका अनुसार उनका पति तीन वर्षदेखि रोजगारीका लागि विदेशमा छन् ।
गत हप्ता एउटा पत्रले उनलाई अचम्मित पा¥यो । पत्रमा उनका पतिको नाममा अझै एक लाख ऋण बाँकी रहेको उल्लेख थियो ।
“म त छक्क परेँ,” चमेली भन्छिन्। “मैले त सबै तिरिसकेको थिएँ। कसरी फेरि ऋण रह्यो?” उनले आफ्नो मोबाइलबाट बैंक स्टेटमेन्ट देखाउँदै भनिन्, “हेर्नुहोस् न, यहाँ स्पष्ट देखिन्छ -मैले सबै तिरेको छु। तर त्यसपछि, मलाई थाहै नदिई, फेरि एक लाख निकालिएको रहेछ।”
चमेलीको आवाजमा रिस र निराशा मिसिएको थियो । “मेरा श्रीमान् त तीन वर्षदेखि नेपालमै हुनुहुन्न। उहाँले कसरी यो नयाँ ऋण लिनुभयो? यो त स्पष्ट छैन र?”
“हामीले पहिले लिएको ऋण पूर्ण रूपमा चुक्ता गरिसकेका थियौँ,” चमेलीले बताइन्। “तर अचानक सहकारी र उपमहानगरपालिकाबाट पत्र आयो, जसमा थप ऋण तिर्न बाँकी रहेको उल्लेख गरिएको थियो।”
चमेलीका अनुसार, उनीहरूले २०७८ साल भदौ १७ गते एक लाख रुपैयाँको ऋण लिएका थिए, जुन २०७९ मंसिर २९ गते पूर्ण रूपमा चुक्ता गरिएको थियो।

तर, सहकारीको स्टेटमेन्टमा अनुसार ऋणचुक्ता गरेकै दिन फेरि एक लाखको नयाँ ऋण निकालिएको देखिन्छ । चमेलीले यो नयाँ ऋण आफूहरुले नलिएको दृढतापूर्वक बताएकी छन् ।

हेटौंडा उपमहानगर सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले यस मामिलाको गम्भीरतापूर्वक अनुसन्धान गरिने आश्वासन दिएका छन् ।
सृजना सहकारीका अध्यक्ष ध्रुव आर्यालले गल्ती स्वीकार्दै नियतवश केही कर्मचारीले यसो गरेको भेटिएको बताए। उनले भने, “उहाँले ऋण चुक्ता गरेको ७ मिनेटपछि नयाँ ऋण जारी गरिएको सफ्टवेयरमा देखिएको छ।” उनले इन्फो नेपालसँग कुरा गर्दै ४ मिनेट अगाडि त्यो ऋण डिपोजिट भइसकेको बताएका छन् । तर कसले डिपोजिट गरेको उनले खुलाएनन्।
उनले यस विषय मिडियामा सार्वजनिक नगरिदिन आग्रह गर्न समेत भ्याए । अध्यक्ष आर्यालले पीडितले निवेदन दिए कारबाही प्रक्रिया अघि बढाउने बताए । तर, निवेदन नआए केही गर्न नसकिने उनको भनाइ थियो ।
यस घटनाले सहकारी संस्थाको कार्यप्रणाली र नियमनमाथि गम्भीर प्रश्न उठाएको छ । यसले वित्तीय संस्थामा हुनसक्ने अनियमितता र ग्राहकको विश्वास दुरुपयोगलाई उजागर गरेको छ ।



