हेटौँडा | मकवानपुरगढी गाउँपालिका–३ स्थित कुर्ले दमार खेलमैदानमा जारी शहीद रुद्र पाखिन–वासुदेव घिमिरे स्मृति तेस्रो खुला ८–ए साइज फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत आइतबार भएका दुवै खेलमा एकतर्फी नतिजा देखिएको छ।
पहिलो खेलमा दाजु भाइ एफसीले घले समाज बकैयामाथि ४–० को फराकिलो जित हात पार्दै क्वार्टरफाइनलको यात्रा तय गरेको छ । खेलको ६औं मिनेटमै छिरिङ लामाले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि समिराज थोकर ले १४औं, ४३औं र ४६औं मिनेटमा लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरे। उत्कृष्ट प्रदर्शन गरेबापत समिराजलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको छ ।
त्यसैगरी दोस्रो खेलमा सिमलटार युथ क्लब ले नागस्वती फुटबल क्लबलाई पनि ४–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिमलटारका सुजन गुरुङ ले १८औं मिनेटमा पहिलो गोल गरे भने ललित चौलागाईं ले १८औं र ३९औं मिनेटमा दुई गोल थपेका थिए । त्यस्तै पवन राई ले ४३औं मिनेटमा अन्तिम गोल गर्दै जित सुनिश्चित गरे। म्यान अफ द म्याचको उपाधि सुजन गुरुङले पाएका छन् ।



