काठमाडौँ | राष्ट्रिय सभाले पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७८ सर्वसम्मतले पारित गरेको छ। विधेयक अब प्रतिनिधि सभामा पठाइने भएको छ।
सोमबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संसदमा प्रस्तुत गर्नुभएको विधेयक माथिको प्रस्ताव सर्वसम्मतले पारित भएको हो। मन्त्री दाहालले विधेयक पारित भइसकेपछि देशभित्र आन्तरिक जलमार्गमा जलयान सञ्चालनको सम्भावना अघि बढ्ने बताए ।
उनका अनुसार नारायणी नदीबाट भारत हुँदै समुद्रसम्मको पहुँच विस्तार गर्न भारत सरकारसँग सहकार्य भइरहेको छ। “भारत सरकारको जल यातायात मन्त्रालयले नेपालको नदीमा जलयान सञ्चालनबारे डिपिआर बनाइसकेको छ, थप अध्ययन आवश्यक छ,” मन्त्री दाहालले भने ।
छलफलका क्रममा राष्ट्रिय सभाका सदस्यहरूले वैकल्पिक यातायातको माध्यमका रूपमा जल यातायात प्रभावकारी हुन सक्ने धारणा राखेका थिए। सदस्य सुरेश आलेमगर, रुक्मिणी कोइराला र तारामान स्वाँरले सरकार गम्भीर भएर लागेमा जल यातायात पर्यटन, व्यापार र यातायातको भरपर्दो माध्यम बन्ने विश्वास व्यक्त गरे ।
सभाका सदस्य डा. वेदुराम भुसालले समुद्रसम्मको पहुँच नेपालले आफ्नो अधिकारका रूपमा हेर्नुपर्ने र कानुनी ढोका खुलेपछि समुद्रमार्गबाट पनि नेपालको उपस्थिति देखिने बताए ।
सदस्य विष्णुबहादुर विश्वकर्माले भने हजारौँ नेपाली श्रमिकहरू अन्तर्राष्ट्रिय पानीजहाजमा कार्यरत रहे पनि नागरिकता भएका देशबाट नाभिक परिचयपत्र नपाउँदा उनीहरू परिचयविहीन बन्नुपरेको उल्लेख गरे । विधेयकले सो समस्या समाधान गर्ने भएकाले हजारौँ श्रमिक लाभान्वित हुने उनको भनाइ थियो।



