हेटौँडा | बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सञ्चारको परिभाषा फेरिँदै गएकाले चुनौतीहरू पनि थपिएको बताएका छन्।
बागमती प्रदेश सभा सचिवालयले आयोजना गरेको दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। सभामुख पाठकले पत्रकारिताको बदलिँदो स्वरूप र सामाजिक सञ्जालको प्रभावबारे चेतावनी दिँदै सञ्चारकर्मीहरू अझ जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिए।
उनले भने, “पत्रकारिता केवल समाचार लेख्ने माध्यम होइन, यो लोकतन्त्रको आत्मा हो। यसले संसददेखि सरकारका कामकाज, नागरिकका आवाज र समृद्धिका सम्भावनाबीच पुलको काम गर्छ।”
त्यस्तै, कार्यक्रममा प्रदेश उपसभामुख अपसरा चापागाईंले सञ्चारकर्मीहरूको भूमिका संविधान निर्माणदेखि विकाससम्मको यात्रामा सहयात्रीको रहेको बताइन्।
“नेपालको भौगोलिक स्वरूपअनुसार बागमती प्रदेशको हेटौंडाले तराई, पहाड र हिमाल सबै समेटेको छ। यही कारण यो प्रदेश सबै अभ्यास र प्रयोग सिक्न सकिने थलो हो,” चापागाईंले भनिन्।
सामाजिक सञ्जाल र प्रविधिको विस्तारले सञ्चार माध्यममा ल्याएको परिवर्तनलाई सकारात्मक मान्दै उनले भनिन्, “पहिले पत्रपत्रिका हेर्थ्यौं, अहिले मोबाइलमै समाचार हेर्न सकिन्छ। यो परिवर्तन सञ्चारकर्मीहरूको निरन्तर मेहनतको परिणाम हो।”

कार्यक्रमको पहिलो दिन ‘नेपाली पत्रकारिताको अभ्यास र चुनौती’ विषयमा वरिष्ठ पत्रकार युवराज घिमिरेले अन्तरक्रिया संचालन गरेका थिए। उनले ऐतिहासिक सन्दर्भ, राजनीतिक उतारचढाव र वर्तमान यथार्थबीच सञ्चार माध्यमको भूमिका बारे जानकारी दिए । उनले सञ्चार माध्यमहरूले आफ्नो स्वतन्त्रता जोगाउँदै उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको दोस्रो दिन (भोलि) कान्तिपुर दैनिकका सम्पादक दुर्गा खनालले ‘राजनीति र संसदीय पत्रकारिता’ विषयमा अन्तरक्रिया कार्यक्रम रहेको छ । बागमती प्रदेश सभाले आयोजना गरेको दुई दिने अन्तरक्रिया कार्यक्रमको मूल उद्देश्य प्रदेश सरकार र सञ्चारकर्मीबीच निरन्तर संवाद, अन्तरक्रिया र सहकार्यको वातावरण निर्माण गर्नु रहेको सचिवालयले जनाएको छ ।
कार्यक्रममा प्रदेश सभा सचिव रामकुमार पौडेल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण शारू मगर, उपाध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी लगायत मकवानपुरका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।



