हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोविलसहित आक्रमण भएको छ।
भूमिसम्बन्धि समस्या देखाउँदै वडा कार्यालय प्रवेश गरेका ४ जनाको समूहले आक्रमण गरेको बताइएको हो। कालो पोशाक लगाएर मोटरसाईकलमा आएका ४ जनाको समूहले न्यौपानेलाई कार्यकक्षमै आक्रमण गरेका हुन् । उनीहरुले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोविल छ्यापेका बताइएको छ ।
सार्वजनिक जमिन संरक्षणका लागि काममा लाग्दा आफूमाथि आक्रमण भएको अध्यक्ष न्यौपाने बताए। हेटौँडा –१ स्वर्गलोक सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो। सोही बिषय लिएर वडाका आएका व्यक्तिहरुले आक्रमण गरेको बताइएको छ।
आक्रमणबाट अध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको छ। घटनाका पछि आफूले प्रयोग गर्ने दुईवटै मोबाईल समेत लगेको न्यौपानेले बताए। घटनापछि हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडा अध्यक्षहरु घटना स्थल पुगेका थिए ।
वडा अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणको बिषयलाई लिएर उपमहानगरपालिकाको आकस्मिक बैठक बस्ने भएको छ। बैठकपछि उपमहानगरले आफ्नो धारणा सार्वजनिक गर्ने नगरप्रमुख लामाले बतइन्।