हेटौँडा | देशभर मनसुनी वायुको प्रभाव जारी रहँदा आइतबार (असार ८) को मौसम अझ बढी जोखिमपूर्ण बन्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार, विशेषगरी वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। दिउँसोदेखि नै देशका अधिकांश पहाडी क्षेत्र, विशेषगरी कोसी प्रदेशको पहाडी भूभाग, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।
यस्तै, देशका उच्च पहाडी र हिमाली भूभागमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातीपनि मौसमको त्यही धारणा कायमै रहने पूर्वानुमान गरिएको छ। कोसी, मधेस र वाग्मती प्रदेशमा राति अत्यधिक भारी वर्षाको चेतावनी दिइएको छ, भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले निरन्तर वर्षाले पहिरो, बाढी र अवरोधजन्य घटनाको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। मौसममा हुने तीव्र परिवर्तनलाई मध्यनजर गर्दै नदी किनारका बासिन्दा, यात्रु, किसान र स्थानीय निकायहरूलाई सचेत रहन र आवश्यक पूर्वतयारी गर्न समेत आग्रह गरिएको छ।



