हेटौँडा | सामाजिक सञ्जाल र प्रविधिको तीव्र विकाससँगै यसको दुरुपयोग पनि उत्तिकै बढेको छ। मकवानपुरमा पछिल्ला तीन वर्षमा मात्रै अनलाइनमार्फत ठगीका ३२९ उजुरी परेका छन्। तर, तीमध्ये अहिले सम्म ५३ केस मात्र समाधान भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु आर्यालका सामान्य सावधानी अपनाएको भए धेरैजसो ठगी रोक्न सकिन्थ्यो, तर प्रविधिको कम ज्ञान भएकाहरुलाई धेरै सीप भएकाहरूले निशाना बनाइरहेका छन् । “अनलाइनमा किनबेचको नाममा, स्क्रिन सेयर गरेर वा ‘ईसेवा अपडेट गरिदिन्छु’ भन्दै ठगिएको उजुरी दैनिकजसो आउँछन्,” उनले भने। उजुरी दर्ता भएपछि प्रमाण र डाटा सङ्कलन गर्दै अनुसन्धान अघि बढाइने र हालसम्म ५३ केस समाधान भएको उनले जानकारी दिए।
जिल्ला प्रहरी कायालय मकवानपुरको तथ्यांकअनुसार २०७९/८० मा अनलाइन ठगीका उजुरी २५ थिए। ०८०/८१ मा बढेर ४४ पुगे। र ०८१/८२ मा मात्रै यो संख्या एकैपटक २१० पुग्यो। तीन वर्षमा जम्मा ३२९ उजुरी परेका छन्। तीमध्ये करिब ८५ प्रतिशत उजुरी अझै अनुसन्धानमै छन्।
त्यस्तै, फेसबुक ह्याकिङका उजुरी ५९५, फेक फेसबुक अकाउन्ट बनाइ ठगिने उजुरी १८२ र टिकटकसहित अन्य माध्यमबाट ठगीका २४ उजुरी प्रहरीमा दर्ता भएका छन्। मोबाइल हराएको वा चोरी भएको निवेदन भने २ हजार २४४ परेका छन्। तीमध्ये ४५७ मोबाइल प्रहरीले फेला पारी सम्बन्धितलाई बुझाएको छ।
‘सचेत हुनु जरुरी’
डीएसपी आर्यालका अनुसार नागरिकहरूले सचेतना नअपनाउँदा ठगहरूको जालमा परिरहेका छन्। “काम गर्नु अघि थप सोच्ने र पठाउनुअघि आधिकारिकता पक्का गर्ने बानी बसाल्नुपर्छ।” उनले थपे, “सामान्य सावधानी अपनाउँदा धेरै घटना रोक्न सकिन्छ।”
उनका अनुसार सामाजिक सञ्जालमार्फत सस्तो सामानको विज्ञापन देखाएर अग्रिम रकम लिने, स्क्रिन सेयर गराएर पिनकोड/ओटीपी झिक्ने, आफूलाई बैंक कर्मचारी वा सेवा प्रदायक बताउने जस्ता प्रवृत्ति बढेको छ।
प्रहरीका अनुसार यस्ता केसमा अनुसन्धानका क्रममा अदालतबाट आदेश लिएर कल डिटेल्स र अपरेशनल डाटा मागिन्छ। तर, प्रविधिगत कमी र स्रोत अभावले अनुसन्धानमा समय लाग्ने डीएसपी आर्यालले बताए । “हामीले अदालतको आदेशमा डाटा मागेर काम गर्छौं। अहिले पनि एड्भान्स प्रविधिको अभावमा केही जटिलता हुन्छ,” डीएसपी आर्याल भन्छन्।
उनका अनुसार अहिले सम्म सामाजिक सञ्जाल र अनलाइन ठगीबाट ठगिएको रकम ३ करोड ६३ लाख ८५ हजार रुपैयाँभन्दा बढी छ। तीमध्ये हालसम्म करिब ६६ लाख ६३ हजार रुपैयाँ फिर्ता गराउन प्रहरीले सफल भएको छ।
सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग दिनहुँ जटिल बन्दै जाँदा प्रहरीमात्रको प्रयास पर्याप्त नहुने विज्ञहरूको बुझाइ छ। उनीहरु साइबर अपराध नियन्त्रणका लागि नागरिक सचेतना र कानुनी सुधार दुवै एकसाथ आवश्यक रहेको बताउछन्।
मकवानपुरको उदाहरणले देखाएजस्तै देशभर नै प्रविधि दुरुपयोग र अनलाइन ठगी बढ्दै जाँदा यसलाई नियन्त्रण गर्न सरकारले दीर्घकालीन योजना बनाउनु पर्ने विज्ञहरूको सुझाव छ।



