देशबागमती प्रदेशराक्सिराङ्ग गाउँपालिकाले न्वागी पर्वमा ३ दिन सार्वजनिक बिदा दिने

राक्सिराङ्ग गाउँपालिकाले न्वागी पर्वमा ३ दिन सार्वजनिक बिदा दिने

हेटौँडा । चेपाङ समुदायको सांस्कृतिक पर्व छोनम न्वागी (नवाङ्गी) को अवसरमा राक्सिराङ्ग गाउँपालिकाले यस वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलबार गाउँपालिकाले सूचना जारी गर्दै भदौ २१, २२ र २३ गते सार्वजनिक बिदा हुने जनाएको हो ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार सो अवधिभर शिक्षण संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन् । साथै, पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गरिएको छ ।

राक्सिराङ्ग गाउँपालिकाले विगतका वर्षहरूमा समेत न्वागी पर्वमा सार्वजनिक बिदा दिँदै आएको छ । चेपाङ समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रमा न्वागीलाई सांस्कृतिक रूपमा विशेष महत्व दिइन्छ ।

नयाँ अन्नबाली र फलफूल पाकेपछि मनाइने यस पर्वमा घैयाँ धान, पिँडालु, निबुवा लगायतका अन्नबाली भूमिलाई चढाउने र पितृलाई अर्पण गर्ने परम्परा छ । नयाँ अन्न पितृलाई नचढाई खाएमा देवता रिसाउँछन् भन्ने विश्वास रहेको छ । त्यसका लागि झाँक्री (पाँडे)हरूले ढ्याङ्ग्रो ठटाउँदै कुखुराको बली दिने प्रथा प्रचलित छ ।

पर्वका अवसरमा छरछिमेकी र नातागोतालाई निम्त्याएर सामूहिक भोज गर्ने, नाचगान गर्ने र आपसी सम्बन्ध सुदृढ पार्ने चलन छ । चेपाङहरूले यस दिनलाई ‘वारना’ वा ‘पान्देई घ्यासा’ भनेर पनि सम्बोधन गर्ने गरेका छन् । भेलामा ढ्याङ्ग्रो बजाउने, टीका लगाउने र आशीर्वाद थाप्ने परम्परा अझै प्रचलनमै छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img