हेटौँडा । आगामी तीन दिन देशभर मौसम बदली रहने पूर्वानुमान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनअनुसार अधिकांश पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार कात्तिक १० गते सोमबार, दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली हुनेछ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ। राति ती प्रदेशका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको उल्लेख छ।
कात्तिक ११ गते मंगलबार पनि यस्तै मौसम रहने महाशाखाले जनाएको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेष गरी गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
कात्तिक १२ गते बुधबार, दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य पहाडी भूभागमा बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
विभागले नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दै उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्कनेलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।




