हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का नजिक आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ गइरहेको NL01N0280 नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षका केदार श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई हेटौँडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
उक्त स्कुटरमा सवार उनकी श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठ गम्भीर घाइते भएकी छन् भने दुई वर्षीय छोरा प्रविन श्रेष्ठको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। आमा–छोरा हाल चितवनस्थित एलाईभ अस्पतालमा उपचाररत छन्।
दुर्घटनामा संलग्न ग्यास बुलेट र चालक भारत बिहारका ५५ वर्षीय मोहमद मतिनलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ।



