काठमाडौं | नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको क्रममा भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक जिम्मेवार रहेको बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा रावलले संसदीय प्रणालीमा कुनै घटना घटेमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जिम्मेवारी लिनुपर्ने बताउँदै घटनाको गहिरो अध्ययन र विश्लेषण आवश्यक रहेको उल्लेख गरे। उनले बाह्य शक्तिको घुसपैठका कारण आन्दोलनका क्रममा ठूलो क्षति भएको आशंका समेत व्यक्त गरे।
रावलले वर्तमान सरकारलाई छ महिनाको चुनावी सरकारले सीमित कार्यकाल भएकाले अन्य छिमेकी मुलुकसँग दीर्घकालीन सम्झौता गर्न नपाउने स्मरण गराए। उनले आगामी आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने जिम्मेवारी वर्तमान सरकारले पूरा गर्नुपर्ने बताए।
साथै, उनले कैदीबन्दी, हातहतियार बाहिर हुनु र समाजमा बढ्दो अराजकता जस्ता समस्यालाई समेत औँल्याउँदै मुलुकको चुनौतीलाई सामना गर्न नेपाली कम्युनिष्ट पार्टीभित्र एकता आवश्यक रहेको बताए।



