मकवानपुर । हेटौँडा–१६ को लक्ष्मी आधारभूत विद्यालयमा घण्टी त लाग्छ, तर विद्यार्थीको ध्यान पढाइमा होइन, सास फेर्नमा केन्द्रित हुन्छ। विद्यालयदेखि केही दूरीमै रहेको शिवम् सिमेन्ट उद्योगबाट वर्षौंदेखि निस्कँदै आएको कालो धुवाँ, धुलो र ध्वनिले कक्षा–पठनदेखि बालबालिकाको स्वास्थ्यसम्म गम्भीर संकट निम्त्याएको छ।
विद्यालय प्रशासनका अनुसार बालबालिका नियमित रूपमा मास्क लगाएर पढ्न बाध्य छन्। ध्वनि प्रदूषणका कारण कक्षामा शिक्षकको आवाज सुनिँदैन, पठन–पाठन अवरुद्ध हुन्छ। ‘‘कहिलेकाहीँ कक्षा सञ्चालनसमेत रोक्नुपर्छ,’’ एक शिक्षकले बताए, ‘‘कानै खाने आवाज र धुलोले सामान्य वातावरण नै नष्ट भएको छ।’’
उद्योगको असर विद्यालयमा सीमित छैन। स्थानीय बासिन्दा, बालबालिका, वृद्धदेखि किसानसम्म प्रदूषणका प्रत्यक्ष पीडित बनेका छन्। घरआँगन, खेतबारी, भान्सा र सुकाइएका कपडासम्म सिमेन्टको धुलोले ढाकिने अवस्था कायम छ। किसानहरूले माटोको उर्वराशक्ति घट्दै गएको , बालीको उत्पादन आकस्मिक रूपमा कम भएको भन्दै राशन चलाउनै मुस्किल पर्न थालेको बताउछन् ।
सामाजिक संस्था ‘सेवा सहयोग र आवाजमा हामी’ ले प्रभावित क्षेत्रको अनुगमनपछि स्थानीयको दयनीय अवस्था औपचारिक रूपमा सार्वजनिक गरेको छ। संस्थाका अभियानकर्मी विशालराज महतका अनुसार बालबालिकामा दम, एलर्जी, छालासम्बन्धी समस्या र श्वासप्रश्वासका रोगहरू बढेका छन्। ‘‘खानेपानीसमेत प्रदूषित बन्दै गएको छ,’’ महत थप्छन्, ‘‘धुलोको तहले पानीका मुहानदेखि भान्सासम्म प्रभाव पारिरहेको छ।’’



