पर्यटननिर्माणपछि दुई वर्षमा चित्लाङ भ्युटावर उद्घाटन, अब थाहा नगरपालिकाले सञ्चालन गर्ने

निर्माणपछि दुई वर्षमा चित्लाङ भ्युटावर उद्घाटन, अब थाहा नगरपालिकाले सञ्चालन गर्ने

मकवानपुर। निर्माण सम्पन्न भएको करिब दुई वर्षपछि थाहा नगरपालिकाको चित्लाङमा निर्माण गरिएको भ्युटावर बुधबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

स्थानीय तहले सञ्चालन तथा व्यवस्थापन गर्नेगरी बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको उक्त भ्युटावर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

विगतमा सञ्चालन कार्यविधि तथा प्रदेश सरकार र स्थानीय तहबीच सहमति नजुट्दा भ्युटावरसहितको हिलस्टेसन प्रयोगविहीन अवस्थामा रहेको थियो । बागमती प्रदेश सरकारको ‘चित्लाङ हिलस्टेसन प्याकेज’ कार्यक्रमअन्तर्गत कुल ५ करोड २७ लाख ४७ हजार रुपैयाँ लागतमा भ्युटावर र अन्य सहायक संरचनाहरू निर्माण गरिएको थियो । २०७७ र २०८० गरी दुई प्याकेजमा निर्माण सम्पन्न भए पनि हस्तान्तरण तथा व्यवस्थापनको कार्यविधि नबन्दा संरचना सञ्चालनमा आउन सकेको थिएन ।

गत साता प्रदेश सरकारले उक्त पर्यटकीय संरचना थाहा नगरपालिकालाई हस्तान्तरण गरेपछि भ्युटावर सञ्चालनको बाटो खुलेको हो । भ्युटावर सञ्चालन तथा व्यवस्थापनका लागि थाहा नगरपालिका र प्रदेशको पर्यटन विकास आयोजनाबीच १० बुँदे सम्झौता भएको छ । सम्झौताअनुसार नगरपालिकाले टावर आफैँ वा संघ–संस्था तथा समितिमार्फत ठेक्कामा लगाएर सञ्चालन गर्न सक्नेछ ।

आम्दानी बाँडफाँडको व्यवस्थाअनुसार टावरबाट प्राप्त आम्दानीको ७० प्रतिशत हिस्सा थाहा नगरपालिकाको हुनेछ भने बाँकी ३० प्रतिशत रकम बागमती प्रदेश सरकारको राजस्व खातामा अर्धवार्षिक रूपमा जम्मा गर्नुपर्ने पर्यटन विकास आयोजनाका प्रमुख रोशन श्रीवास्तवले जानकारी दिए । सम्झौतामा उक्त संरचना पर्यटन प्रवर्द्धनबाहेक अन्य कुनै उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

भ्युटावर परिसरमा मुख्य टावरसँगै क्रिएसन हल, शौचालय, रिटेनिङ वाल, गेट र गार्ड हाउसजस्ता संरचनाहरू निर्माण गरिएका छन् । संरचनाको मर्मतसम्भार आवश्यक परेमा एक पटकका लागि प्रदेशको पर्यटन मन्त्रालयले लागत बेहोर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।

प्रदेश सरकारले २०७६ सालदेखि हालसम्म १३ मध्ये ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरिसकेको छ । मकवानपुरसहित नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखामा यस्ता संरचना निर्माण भएका छन् । ११ वटा भ्युटावर निर्माणमा प्रदेश सरकारले कुल ३२ करोड ८४ लाख ३ हजार ३ सय ३९ रुपैयाँ लगानी गरेको छ । तीमध्ये चित्लाङसहित हालसम्म पाँच वटा भ्युटावर मात्रै सञ्चालनमा आएका छन् भने बाँकी संरचनाहरू क्रमशः स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेका छन् ।

उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री सुरेश श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न प्रदेश सरकारले पर्यटकीय पूर्वाधारमा लगानी बढाउँदै लगेको बताए । प्रदेशका पर्यटकीय गन्तव्यहरूको व्यवस्थापन र संरचनागत विकासमा सरकार निरन्तर प्रयासरत रहेको उनको भनाइ थियो ।

थाहा नगरपालिकाका मेयर विष्णु विष्टले भ्युटावर सञ्चालनमा आएपछि नगरपालिकामा पर्यटकको संख्या वृद्धि हुने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img