निर्वाचनहोटल र पर्यटन व्यवसायबाट संसद् सम्मको यात्रा: मकवानपुर–२ का युवा उम्मेदवार प्रशान्त...
spot_img

होटल र पर्यटन व्यवसायबाट संसद् सम्मको यात्रा: मकवानपुर–२ का युवा उम्मेदवार प्रशान्त उप्रेती

हेटौँडा | मकवानपुर–२ बाट प्रतिनिधिसभा चुनावमा पहिलोपटक उम्मेदवार बनेका २५ वर्षीय युवा पर्यटन उद्यमी प्रशान्त उप्रेती युवा नेतृत्व, स्थानीय विकास र आर्थिक एजेन्डासहित चुनावी मैदानमा प्रवेश गरेका छन्। होटल र पर्यटन क्षेत्रमा अनुभव राख्ने उनी स्थानीयस्तरमा परिचित हुन् र युवा उमेरमै व्यवसायिक सफलता हासिल गरेका छन्।

१० जेठ २०५७ मा मकवानपुरमा जन्मिएका प्रशान्तले पर्यटन व्यवस्थापनमा स्नातक गरेका छन् र हाल प्रशासनमा स्नातकोत्तर अध्ययनरत छन्। राजनीतिमा प्रवेश गर्ने कारणबारे उनले बताए, “हामीले हिजो सामाजिक मुद्दामा आवाज उठायौं, विकृति विरुद्ध प्रश्न गर्‍यौं। तर जब ती प्रश्नहरू अनुत्तरित रहे, मलाई महसुस भयो कि केवल प्रश्नले काम हुँदैन, अब आफैँ उत्तर बन्नुपर्छ।”

प्रशान्तको मुख्य एजेन्डा पर्यटन र आर्थिक विकास, स्थानीय समुदायको सशक्तीकरण, र राज्य संरचनाको सुधारमा केन्द्रित छ। उनले चित्लाङ, मार्ख, राकसिराङ हुँदै पर्सा वन्यजन्तु आरक्षसम्मको टुरिजम करिडोरमार्फत ग्रामीण क्षेत्रको गरिबी निवारण सम्भव हुने बताउँछन्। उनी ग्रामीण पर्यटन, कृषि पर्यटन, जातीय घरवास पर्यटन र मानव–वन्यजन्तु द्वन्द्व समाधानलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

उनको दृष्टिकोण अनुसार, केवल सडक र पुल निर्माणले मात्र विकास हुँदैन। “राज्यका संरचनाहरू बलियो हुनु प्राथमिक सर्त हो,” उनी भन्छन्। प्रशान्त संसद्मा गन्ती मात्र पुर्‍याउने नभई जनभावनाको प्रतिनिधित्व गर्दै गुणस्तरीय कानुन निर्माण र सरकारको निरन्तर निगरानीमा जोड दिन इच्छुक छन्।

चुनावी विश्लेषणअनुसार, मकवानपुर–२ मा प्रशान्तले पुराना र स्थापित नेतासँग प्रतिस्पर्धा गर्नु पर्नेछ। यस क्षेत्रमा निवर्तमान सांसद महेश बर्तौला, पूर्वमेयर लवसेर विस्‍ट, कांग्रेसका बुद्ध लामा लगायत २१ जना उम्मेदवार छन्। तर युवा र ताजा अनुहार, पर्यटन र आर्थिक एजेन्डामा अनुभव, तथा सीमान्तकृत समुदायप्रति प्रतिबद्धताका कारण प्रशान्त अरू उम्मेदवारभन्दा फरक देखिन्छन्।

प्रशान्तको उम्मेदवारीले युवा वर्ग, स्थानीय उद्यमी र पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा उत्साह थपेको छ। उनी आफ्नो अभियानमा राज्यको नीतिसँग नागरिकको जीवन सहज हुने विश्वास लिएर अघि बढेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img