चितवन | दुईपटक भरतपुर महानगरपालिकाको प्रमुख निर्वाचित भइसकेकी रेनु दाहाल यसपटक चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका रूपमा चुनावी मैदानमा उत्रिएकी छन्। नेपाली कम्युनिस्ट पार्टी को तर्फबाट उम्मेदवारी दिएकी दाहाल महानगर प्रमुख हुँदा गरेका कामलाई मतमार्फत अनुमोदन गराउने लक्ष्यसहित चुनावमा होमिएकी हुन्।
२०३३ सालमा जन्मिएकी दाहाल भरतपुर–१४ मा बसोबास गर्दै आएकी छन्। उनी पुष्पकमल दाहाल (प्रचण्ड) की छोरीसमेत हुन्। माओवादी सशस्त्र विद्रोहको समयदेखि राजनीतिमा सक्रिय दाहाल भूमिगत कालमै अखिल भारत नेपाली महिला समाजको अध्यक्ष बनेकी थिइन्। २०६१ देखि २०६३ सालसम्म तत्कालीन नेकपा (माओवादी) को रोल्पा जिल्ला सह–इन्चार्ज रहेकी उनी २०६४ सालको पहिलो संविधानसभामा सदस्य भइन् र त्यसपछि पार्टीको पोलिटब्युरो सदस्यसमेत बनिन्।
२०७० सालको निर्वाचनमा काठमाडौं–१ बाट पराजित बनेकी दाहाल २०७४ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख निर्वाचित भइन्। मतगणनाको अन्तिम चरणमा मतपत्र च्यातिएको घटनाले त्यो निर्वाचन विवादास्पद बने पनि उनले पाँच वर्षे कार्यकाल पूरा गरिन्। २०७९ सालमा पुनः महानगर प्रमुखमा निर्वाचित भएसँगै उनको प्रशासनिक र राजनीतिक हैसियत थप बलियो बनेको विश्लेषण गरिन्छ।
महानगर प्रमुखका रूपमा दाहालले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्दै पूर्वाधार र सेवा विस्तारलाई प्राथमिकता दिएकी थिइन्। नारायणी नदी कटानको दीगो समाधान, जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि मेस जाली तथा कंक्रिट संरचना निर्माण, सिँचाइ सुविधा विस्तार, सडक, विद्यालय र स्वास्थ्य चौकीजस्ता आधारभूत सेवाहरू गाउँगाउँसम्म पुर्याएको दाबी उनी चुनावी एजेन्डाका रूपमा अघि सार्छिन्।
दाहाल संसद् पुगेर केवल संख्या बढाउने सांसद बन्ने होइन, स्थानीय तहमा सिकेको प्रशासनिक अनुभवलाई राष्ट्रिय नीतिनिर्माणमा प्रयोग गर्ने बताउँछिन्। संविधानको भावनाअनुसार विकास, संघीयताको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाह सुधारमा आफ्नो भूमिका रहने उनको भनाइ छ।
तर यसपटकको चुनाव दाहालका लागि सहज भने छैन। दुईपटक महानगर प्रमुख हुँदा साथ दिएको कांग्रेस यसपटक उनको पक्षमा छैन। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम, कांग्रेसका टेकप्रसाद गुरुङ र एमालेका शंकरराज थपलिया सँग उनको कडा बहुपक्षीय प्रतिस्पर्धा देखिन्छ। यसअघि राप्रपाका उम्मेदवारले पाएको ‘स्विङ’ मत कुन दिशामा जान्छ भन्ने कुराले पनि नतिजामा निर्णायक प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
चितवन–३ मा दाहालका लागि सबैभन्दा ठूलो चुनौती महानगर प्रमुखका रूपमा बनाएको ‘विकासको छवि’ संसद् सदस्य बन्न कत्तिको सहयोगी हुन्छ भन्ने हो। त्यसको उत्तर भने अन्ततः मतदाताको निर्णय र निर्वाचन परिणामले नै दिनेछ।



